News

Aug 29, 2010

कल बाइपास गर्ने उपकरणसहित एक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, भदौ १३- भिओआइपी सञ्चालन गरी विदेशबाट नेपालमा आउने कल बाइपास गर्दै आएका एक व्यक्तिलाई लाखौंका उपकरणसहित प्रहरीले भैरहवामा पक्राउ गरेको छ। पक्राउ पर्ने सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाका ४८ वर्षीय अकबर मोहम्मद गद्धी हुन्। उनले आफ्नो बन्दै गरेको घरको एउटा कोठामा भिओआइपीका सामग्री राखेर कलबाइपास गर्दै आएको भेटिएको रुपन्देहीका एसपी शेरबहादुर बस्नेतले बताए। छ महिनादेखि यो व्यवसायमा लागेका अकबर भैरहवामा तीन महिनाअघि आएका हुन्।
त्यसअघि उनले तौलिहवामा बसेर आफ्नो व्यवसाय सञ्चालन गरेका थिए। प्रहरीले अकबरको घरमा छापा मारेर भिओआइपी १६ पोर्टको एक थान, भिओआइपी गेटवे एक थान, गेटवे पाँच, कम्प्युटर सेट, नेपाल टेलिकमको प्रिपेड सिम ३२ थान, पोस्टपेड सिम एक थान, एनसेलका सीम ३२ थान, युटिएलका चार थान, भारतको एक थान, कतारको एक थान सीम बरामद गरेको छ।उनले भैरहवाको वर्ल्डलिङ्क कम्युनिकेशनबाट बाट दुई मेघावाइट क्षमताको इन्टरनेट प्रयोग गरी विदेशबाट आउने फोन अवैधरुपमा टेलिकमको गेटवे छलेर सिधै आफना नेटवर्कका ग्राहककहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीको भनाई छ।१६ पोर्टको उपकरणबाट एक पटकमा ६४ जना ग्राहकसँग कुरा गर्न मिल्ने प्रहरीले बताएको छ। यो व्यवसाय चलाउन उनको जोर्डन र मुम्बईमा सम्पर्क रहेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ। जोर्डन र मुम्बई हुँदै उनले साताको २ हजार डलर आम्दानी गर्ने गरेको प्रहरीलाई बयान दिएका छन्।

No comments: