News

Aug 7, 2010

साहित्यकारलाई सम्मान गर्न काइँलाको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुन्दरीजल,नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले वरिष्ठ साहित्यकारलाई जति सम्मान गरे पनि त्यो अपुग हुने बताउनुभएको छ । सुरभी साहित्य प्रतिष्ठानले बौद्ध रामहिटीमा आज आयोजना गरेको सुरभी नवरत्न स्रष्टासम्मान तथा कवितासङ्ग्रह विमोचन समारोहमा उहाँले स्रष्टा सम्मानका लागि राष्ट्र र सम्बद्ध क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा नेपाली भाषा, साहित्य, गीत सङ्गीत र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरु फणिन्द्रराज खेताला, पूर्णप्रकाश नेपाल ‘यात्री’ भैरवनाथ रिमाल ‘कदम’, वसन्तकुमार शम्र्मा नेपाल, कञ्चन पुडासैनी, डा कुमारबहादुर जोशी, नगेन्द्रराज शर्मा, डा राममान तृसित र प्रा देवी शर्मालाई सुरभी नवरत्न सम्मानले सम्मान गरिएको थियो ।सो अवसरमा अच्युत घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘भन्ज्याङमा उभिएर’ को विमोचनसमेत गरिएको थियो ।सङ्ग्रहका बारेमा समालोचक रामप्रसाद ज्ञवाली, जयन्त पोखरेल, मञ्जुल र नगेन्द्रराज शर्माले समीक्षा गर्नुभएको थियो ।प्रतिष्ठानका अध्यक्ष बाबुराम पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाशमणि दाहालले गर्नुभएको थियो ।

No comments: