News

Sep 6, 2010

प्यानलसहित शेरबहादुर देउवाको उम्मेदवारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० भदौ,कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले १२औँ महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने औपचारिक घोषणा गरेका छन् । देउवाले आइतबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । नेता खुमबहादुर खड्काको प्रस्तावमा वरिष्ठ नेता देउवाले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । देउवाको औपचारिक घोषणासँगै महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्ने तीनजना भएका छन् । देउवाको प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिएका छन् । नेता खुमबहादुर खड्काले नै तीनैजनाको उम्मेदवारी प्रस्ताव गरेका हुन् । कुनै पनि पदमा उम्मेदवारी घोषणा नगरेका नेता खड्का केन्द्रीय सदस्यको प्रत्याशी बन्ने भएका छन् । देउवा सभापतिमा निर्वाचित भए उनलाई उपसभापतिमा मनोनयन गर्ने सहमति भएको स्रोतको दाबी छ । नेता खड्काले यसअघि सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका थिए । उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ नेता देउवाले पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली बनाउने प्रतिबद्धता गरे । 'अहिलेको चुनौतीलाई सामना गर्न सक्ने ठूलो, शक्तिशाली र जनपि्रय पार्टी बनाउनेछु,' देउवाले भने । उनले आदिवासी जनजाति, दलित, मधेसीलगायतका उपेक्षति समुदायलाई समेटेर नेतृत्व गर्ने पनि बताए । 'अहिलेको चुनौती भनेको शान्तिप्रक्रिया र संविधान निर्माण हो । गिरिजाबाबुले सुरु गरेको शान्तिप्रक्रियालाई पूरा गर्ने चुनौती छ, त्यसका लागि पार्टी बलियो हुनुपर्छ,' देउवाले भने, 'पार्टीलाई बलियो र जीवन्त बनाउन म सक्रिय रहनेछु ।'
वरिष्ठ नेता देउवाले समावेशी, सुदृढ र राजनीतिक परिवर्तनको नेतृत्व लिने पार्टीका रूपमा कांग्रेसलाई ०४८ सालकै अवस्थमा पुर्‍याउने दृढतासमेत व्यक्त गरे । उनले पार्टीमा कसैलाई पनि काखापाखा नगरी सबै नेता-कार्यकर्ताको संरक्षण गर्ने प्रतिबद्धता जनाए । 'शान्ति बहाली र संविधानको काम पूरा गर्न पनि पार्टीलाई सशक्त बनाउनुपर्छ, पार्टीमा कसैलाई काखापाखा गर्दिनँ,' उनले भने । बिपी, गणेशमान, गिरिजाप्रसादलगायतका नेताहरूले देखाएको बाटोलाई आत्मसाथ गर्दै पार्टीलाई अघि बढाउने उनको भनाइ छ ।
'६ दशक पुरानो इतिहास भएको कांग्रेसलाई देशमा दिगो शान्ति स्थापना, लोकतान्त्रिक संविधान-लेखन र संगठनलाई समावेशी चरित्रको देशकै सशक्त पार्टी बनाउने मेरो प्रयास हुनेछ,' उम्मेदवारी घोषणा गर्दै देउवाले भने, 'कांग्रेस आदिवासी जनजाति, दलितका साथै हिमाल, पहाड र तराईको पार्टी बनाउनेछु ।'
नेता खड्काले पार्टीलाई ०४८ सालको अवस्थामा फर्काउन देउवाको नेतृत्व सक्षम हुने देखेर आफूले प्रस्ताव गरेको बताए । ०४८ सालको संसदीय चुनावमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । खड्काले निर्वाचनको परिणामलाई सबैले सहजै स्वीकार गर्नुपर्ने उल्लेख गर्दै आफ्नो प्यानललाई निर्वाचित गराउन सक्रिय हुनसमेत सबैलाई आग्रह गरे । महामन्त्रीका उम्मेदवार निधिले पनि शान्ति र संविधानको कार्यभार पूरा गर्नु कांग्रेसको मूल एजेन्डा रहेको र त्यसका लागि सहयोग गर्न पार्टीका सबै नेता कार्यकर्तालाई अपिल गरे ।

No comments: