News

Sep 5, 2010

दक्षिण कोरिया पुगेका कामदार बिचल्लीमा परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल, भदौ २०- वैदेशिक रोजगारको लागि दक्षिण कोरिया पुगेका २ सयभन्दा बढी नेपाली कामदार बिचल्लीमा परेका छन्। कोरियाको इन्छन क्षेत्रमा कृषि कामका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत आएका नेपाली कामदारहरु मालिकको अमानवीय व्यवहारका कारण यसरी बिचल्लीमा पर्ने गरेका हुन्। उनीहरुलाई तोकिए अनुसार तलब सुविधा नदिने, शरीरले धान्ने भन्दा बढी समय काम लगाउने र खान समयमा नदिने गरेको पीडीतहरुले बताएका छन्। कोरियामा कृषिका लागि राम्रो ठाउँ मानिएको इन्छन क्षेत्रमा हाल दुई सयभन्दा बढी नेपाली कामदारहरु कार्यरत छन्।
हामीलाई १४ घण्टा भन्दा बढी काम लगाई ओभर टाइमको पैसा समेत दिँदैन। किन नदिएको भन्दा नेपाल फर्कने कि काम गर्ने भनेर धम्क्याउँछ मात्र, दुई महिनाअघि सो क्षेत्रमा कामका लागि आएकी खोटाङकी मीना राईले बताइन। खानाको व्यवस्था आफै गर्नुपर्ने हुँदा पकाउने समय समेत अपुग रहेको कारण भोकै काम गर्न बाध्य भएका छौँ, उनले अगाडि भनिन, कोठामा पानी र बिजुलीको लाइन समेत काटी दिने गरेका कारण हामी आपतमा परेका छौँ। छ महिनाअघि सोही क्षेत्रमा कामका लागि आएकी रामेछापकी अरुणा नेपाली साहुको अमानवीय व्यवहारको सिकार भएको बताउँछिन्- हामी महिला मात्र दश जना छौँ, हामीलाई साहुले जहिले पनि रुखो र अभद्र व्यवहार गर्ने गर्छ। त्यही कारण काम गर्ने अवस्था नै छैन। के गर्ने हो आपतमा परेका छौँ।
उनीहरुले यसबारे दूताबासलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गरे। कोरियाको सो क्षेत्रमा कृषि काम गर्ने महिलाको संख्या पुरुषको भन्दा बढी छ। दक्षिण कोरियास्थित नेपाली राजदूत कमल कोइरालाले सो क्षेत्रमा नेपाली कामदारहरु साहुको अमानवीय ब्यवहारका कारण बिचल्लीको अवस्थामा रहेको स्वीकार्दै उद्धारको लागि आवश्यक पहल थालिने बताए। रोजगारदातालाई सीधै सम्पर्क गर्दा चित्तबुझ्दो जवाफ नआएका कारण कोरिया स्थित मानव तथा संसाधन मन्त्रालय र लेबर अफिसमा उद्धारका लागि कुरा अगाडि बढाउने जानकारी राजदूत कोइरालाले दिए।

No comments: