लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् स्थायी समितिका यहाँस्थित तीन सदस्य राष्ट्रका राजदूतले भेटवार्ता गर्नुभएको छ।आज बिहान प्रचण्ड निवास नयाँबजारमा भएको सो भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत स्कट एच डेलिसी, संयुक्त अधिराज्यका जोन टुकनोट र फ्रान्सका राजदूत जिन चार्लस् डेमार्कीज् सहभागी हुनुहुन्थ्यो ।नेपालमा जारी शान्तिप्रक्रिया, अनमिनको म्याद थपसहितको कार्यादेश तथा वर्तमान राजनीतिक अन्योलको निकासलगायत समसामयिक विषयमा छलफल भएको सो भेटपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी गराउनुभयो ।उहाँले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन अनमिनको कार्यादेशमा कटौती गर्न नहुने र अहिलेकै अवस्थामा अनमिनलाई बिदा गर्दा आमजनतामा शान्तिप्रक्रिया भङ्ग भएको मनोवैज्ञानिक त्रास पर्नसक्ने बताउँदै उसको म्याद बढीमा छ महिना थपिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।अनमिनलगायत नेपालको शान्तिप्रक्रियासँग सम्बन्धित विषय समेटिएको प्रस्तुत सरकारी प्रतिवेदनप्रति असहमति जनाउँदै शान्तिप्रक्रियाको एक पक्ष एमाओवादीले आज अनमिनमार्फत एक छुट्टै प्रतिवेदन पेस गरेको पनि उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।भेटपछि अमेरिकी राजदूत डेलिसीले नेपालमा जारी शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम हुनुपर्ने सुझाव दिनुभयो ।उहाँले नेपालको शान्तिप्रक्रियामा अनमिनको भूमिका अझै आवश्यक रहेकाले उसको म्याद थपिनु उचित हुने धारणा राख्नुभयो ।
No comments:
Post a Comment