News

Aug 4, 2010

डा. भक्तमान श्रेष्ठको अपहरण आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, साउन १९- डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ। नुवाकोट जिलिङका बद्रीप्रसाद ढुङ्गाना, दार्जिलिङका नवीन क्षेत्री र महाराजगन्जका सुनिल श्रेष्ठविरुद्ध यस्तो आदेश भएको हो।सोमबार अदालतमा मुद्दा दर्ता भई जिल्ला न्यायाधीश पदमराज भट्टको इजलासमा सोमबार र मङ्गलबार भएको प्रारम्भिक बहसपछि अदालतले सो आदेश दिएको हो। इजलासमा जिल्ला न्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना, सह न्याधिवक्ता भीमप्रसाद भुर्तेल, अधिवक्ता धर्मराज आचार्य, कृष्णभक्त पोखरेल, खगराज पौडेल र गोकर्ण सापकोटाले जाहेरीवालाका तर्फबाट बहस पैरवी गरेका थिए। अभियुक्तका तर्फबाट कुनै पनि वकिल नभएपछि अदालतका वैतनिक वकिल विकास गुरुङले प्रतिवादीका तर्फबाट बहस गरेका थिए।डा. श्रेष्ठले आफूलाई अपहरण गरी १९ दिनसम्म बन्धक बनाइराखेको किटानी जाहेरीको आधारमा प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो। दुई दिनसम्म चलेको बहसमा उनीहरुले अदालतसामु आफूहरुले अपहरण गरेको स्वीकार गर्दै साविती बयान दिएका छन्। उनीहरुको बयानका आधारमा अदालतले मुलुकी ऐनको धारा ११८ को उपधारा २ बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने आदेश जारी गरेको हो।यसअघि तीन पटक म्याद थप गरी अनुसन्धानका लागि बयान लिएपछि जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई अदालतमा पेश गरेको थियो।

No comments: