News

Aug 4, 2010

शोभराजकी पत्नी र सासुलाई थुनामा राख्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यायाधीशले पैसा खाएर फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजविरुद्ध फैसला गरेको आरोप लगाउने शोभराज पत्नी निहिता र सासू शकुन्तला थापालाई थुनामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
निहिता र शकुन्तलाको अभिव्यक्तिविरुद्ध दायर रिटमा भएको बहसमा सर्वोच्चले तीन दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । म्याद सकिने अन्तिम दिन उपस्थित सासू शकुन्तलामाथि बयान लिंदै गर्दा समय सकिएकाले न्यायाधीशद्वय रामकुमार प्रसाद साह र बलराम केसीको संयुक्त इजलासले हिरासतमा राख्न आदेश दिएको हो ।
शकुन्तलालाई तपाईं कहिलेदेखि न्यायिक क्षेत्रमा प्रवेश गर्नुभयो, कहिले प्रमाण पत्र प्राप्त गर्नुभयो, के बोल्दा अदालतको अवहेलना हुन्छ भन्ने थाहा थियो थिएन जस्ता प्रश्न सोधिएको थियो । बयान नसकिएकाले निहिता र शकुन्तलालाई पुनः बिहीबार बिहान १० बजे उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।
आमा सकुन्तलाको जवाफ दिनेक्रम सकिएको छैन भने छोरी निहिताले बयान सुरु नै भएको छैन । गत शुक्रबार रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले चार्ल्स शोभराजलाई पाटन पुनरावेदन अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेपछि निहिता र उनकी आमा शकुन्तलाले पैसा खाएर न्यायाधीशले फैसला सुनाएको आरोप लगाएका थिए । त्यसविरुद्ध अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता शान्ता सेढाइँ र राजन अधिकारीले मुद्दा दायर गरेका थिए ।

No comments: