News

Jan 16, 2011

प्रत्येक नेपालीको टाउकोमा १४७७२ रुपैयाँ राष्ट्रिय ऋण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ माघ,विभिन्न देश, अन्तर्राष्ट्रिय बैंक, देशभित्रकै वित्तीय संस्था र नागरिकबाट नेपाल सरकारले लिएको ऋण चार खर्ब नाघेको छ । जनसंख्या हिसाब गर्दा प्रत्येक नेपालीको टाउकोमा १४ हजार दुई सय ७२ रुपैयाँ राष्ट्रिय ऋण छ । आर्थिक वर्ष ०६६/६७ सम्ममा नेपालको वैदेशिक ऋण दुई खर्ब ५६ अर्ब २४ करोड ३२ लाख ७८ हजार छ । त्यस्तै आन्तरिक निकाय र व्यक्तिबाट सरकारले एक खर्ब ४७ अर्ब ६६ करोड ७७ हजार ऋण लिएको छ । यसरी नेपालको कुल ऋण चार खर्ब तीन अर्ब ९० करोड ३० लाख ५३ हजार पुगेको छ । नेपाल सरकारको आधिकारिक अनुमानअनुसार कुल जनसंख्या दुई करोड ८३ लाखलाई आधार मान्दा प्रत्येक नेपालीको भागमा १४ हजार दुई सय ७२ ऋण पर्छ । नेपालले १६ वटा देश तथा निकायबाट ऋण लिएको छ ।
नेपालले विश्व बैंक, एसियाली विकास बैंक, तेल उत्पादक देशहरूको संगठन ओपेक बहुपक्षीय निकायबाट दुई खर्ब २९ अर्ब १८ करोड ९५ लाख ऋण लिएको छ । त्यस्तै भारत, जापान, फ्रान्सलगायतका देशबाट २७ अर्ब पाँच करोड ३७ लाख ऋण लिएको छ । नेपाललाई सबैभन्दा बढी विदेशी ऋण एसियाली विकास बैक (एडिबी) ले दिएको छ भने सबैभन्दा कम बेल्जियमको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार नेपालले एडिबीलाई एक खर्ब १४ अर्ब १५ करोड भुक्तान गर्नुपर्नेछ । त्यस्तै बेल्जियमको ऋण भने १७ लाख २२ हजारमात्रै छ । एडिबीको ऋणको ब्याजदर साढे एक प्रतिशत छ । बेल्जियमले नेपाललाई निब्र्याजी ऋण दिएको हो । एडिबीपछि नेपाललाई सबैभन्दा बढी ऋण विश्व बैंकले दिएको छ । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) मार्फत नेपाललाई ऋण उपलब्ध गराउँदै आएको छ । नेपाललाई आइडिएको एक खर्ब ६ अर्ब २० करोड ऋण छ ।

No comments: