News

Jan 29, 2011

संसद्मामा मधेसी दलहरू अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ माघ : नयाँ सरकार निर्माणका लागि तीन ठूला दलहरूबीच कसरत तीव्र भइरहेका वेला संसद्मा उल्लेख्य उपस्थिति रहेका मधेसी दलहरू भने अन्योलमै छन् । भावी प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा मधेसी दलहरूबीच अहिलेसम्म साझा धारणा बन्न सकेको छैन । विगतमा मधेसी दलहरूले एकीकृत मोर्चा बनाएर सत्ताको बार्गेनिङ गर्ने गरेका थिए । तर, मधेसी दलहरूको मोर्चा अहिले छिन्नभिन्न अवस्थामा छ । मोर्चा ब्युँताउने पहल भइरहे पनि यस्तो पहलले खासै गति लिएको छैन । मधेसी दलबीच एकीकृत धारणा बन्न नसक्दा उनीहरूको 'बार्गेनिङ पावर' कमजोर हुन पुगेको छ ।
फोरमका सहअध्यक्ष जेपी गुप्ताले एक-दुई दिनभित्र मधेसी मोर्चा ब्युँताएर बैठक बोलाउने तयारी भइरहेको बताए । 'मोर्चालाई सक्रिय बनाउने तयारी भइरहेको छ, तर पहिले यसको विगतका क्रियाकलापबारे गम्भीर समीक्षा हुनु जरुरी छ,' सहअध्यक्ष गुप्ताले भने ।
प्रधानमन्त्रीको छैटौँ चुनावमा मोर्चाले गरेको निर्णयलाई फोरमले उल्लंघन गरेपछि मोर्चा विभाजित भएको थियो । प्रधानमन्त्रीको सोह्रौँ चुनावपछि मोर्चा पूर्ण रूपमा निष्त्रिmय भएको छ । मोर्चामा रहेका दलमध्ये लोकतान्त्रिक फोरम, तमलोपा र सद्भावना पार्टी कांग्रेस-एमालेतिर नजिक र फोरम माओवादीतिर नजिक देखिएका छन् । सहअध्यक्ष गुप्ताले सरकार निर्माणको विषयमा फोरमले अझै कुनै धारणा नबनाएको बताए ।
तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले आफूहरू सरकारमा जाने पक्षमा नभएको टिप्पणी गरे । 'मधेसी दलहरू सरकारमा गएर मधेसका मुद्दा ओझेलमा परे,' उनले भने । तमलोपाबाट विभाजित भई तमलोपा नेपाल गठन गरेका महेन्द्र यादवले पनि सरकार निर्माणको विषयमा आफ्नो पार्टीले अझै धारणा नबनाएको बताए । 'सरकार निर्माणको विषयमा अझै हामीले कुनै धारणा बनाएका छैनौँ । मोर्चाको बैठक गरेर साझा धारणा बनाउने प्रयास गर्दै छौँ,' यादवले भने ।

No comments: