News

Jan 17, 2011

सङ्खुवासभामा लिम्बुवानी आमसभा सन्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
सङ्खुवासभा, १ माघ २०६७/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभामा जिल्ला कार्य समितिको आयोजनामा सङ्खुवासभाको बाह्रबीसे, सिद्धपोखरी र नुनढाकीमा लिम्बुवानी आमसभा सन्पन्न भएको छ । पुस २५ गते सङ्खुवासभाको बाह्रबीसे बजारमा गंगा थोप्राको अध्यक्षतामा, पुस २८ गते सिद्धपोखरी ५ को बत्तासेमा श्याम वनेमको अध्यक्षता र पुस २९ गते नुनढाकी १ को विहीबारे बजारमा देवेन्द्र थक्लुङ लिम्बूको अध्यक्षतामा उक्त आमसभाहरु सम्पन्न भएका हुन् । तीनवटै आमसभाहरुलाई प्रमुख अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले सम्बोधन गरेका थिए । सम्बोधनकाक्रममा प्रमुख अतिथि मिराकले स्वायत्त राज्यहरुको निर्माणमा इतिहासनै मुख्य आधार हुने कुरा बताउनु भयो । एकसय वर्षपछि हङकङ र मकाउ इतिहासकै आधारमा मुख्य भूमि चीनसँग समाहित भएको भन्दै यसरी हङकङ र चीनमा समाहित हुनुमा इतिहासकै मुख्य भूमिका भएको बताए । त्यसरी नै सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाको भूमिलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गरिनुपर्ने कुरामा जोडदिँदै सोका लागि सशक्त सङ्घर्षमा उत्रन सङ्खुवासभावासीलाई आह्वान पनि गर्नुभयो । अतिथि मिराकले थपे "यस क्षेत्रमा लिम्बुवानको इतिहास जिउँदो छ । यो इतिहासलाई कायम गर्न सबै लागिपर्नुपर्ने बताउनु परौं । सङ्खुवासभाका सबै भूभागलाई लिम्बुवानमै समाहित गर्न गराउन प्रतिवद्धता जाहेर गरौं ।"संविधान सभा राज्य पुनसंरचना समितिले लिम्बुवानको सङ्खुवासभालाई तीनटुक्रामा विभाजित गरेकोमा असमति जनाउँदै र त्यसलाई सच्याउन दवाब दिन सो कार्यक्रमहरु आयोजना गरिएको कुरा मञ्च सम्बद्ध लिम्बुवान सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले बताएका थिए । यसैगरी, सोही आमसभाहरुमा सङ्खुवासभाको केही भू-भागलाई टुक्राएर अन्य प्रदेशमा गाभेको विरोधमा परिषदका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्यहरु प्रेमदीप थाम्सुहाङ र शान्ता योङहाङ तथा एलभी कमाण्डर मुक्साम लाबुङ र लिम्बुवान युवा मञ्चका सुनिल खेवालेसमेत बोलेका थिए । विभिन्न र्याली नारा जुलुश र साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त लिम्बुवान सङ्खुवासभा मिशनलाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सङ्खुवासभा जिल्ला कार्य समितिका अध्यक्ष इन्द्रमान लिङ्थेपले नेतृत्व गरेका थिए । योभन्दा पहिले लिम्बुवान मिशन डीएसअन्तर्गत लिम्बुवानी सेनापति काङसोरेले एकात्मक शासक पृथ्वीनारायण शाहका सेनाहरुसँग सङ्घर्ष गर्दा सहादत प्राप्त गरेको ठाउँ सभाया खोला-अरुण नदीको किनारमा श्रद्धाञ्जलि सभा र खाँदबारीमा लिम्बुवानी आमसभा गरिएको थियो । अब अन्य ठाउँमा पनि लिम्बुवानी आमसभाहरु आयोजना गर्दै जानेसमेत परिषद सङ्खुवासभाका अध्यक्ष इन्द्रमान लिङ्थेपले जनाएका छन् ।
फोटोः मुक्साम लाबुङ, लिम्बुवान

No comments: