News

Jan 14, 2011

सरकार र माओवादी बीच हतियार अनुगमन संयन्त्र बारे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र माओवादी बीच राष्ट्रसंघीय मिसन (अनमिन) फर्के पछिको सेना र हतियार अनुगमन संयन्त्र बारे सहमति जुटेको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका मन्त्री तथा नेताहरुबीच सहमति भएको छ । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनर्स्थापनासम्बन्धी विशेष समितिमा प्रतिनिधित्व गर्ने तीन प्रमुख दलका एक-एक गरी तीन र सचिवालयका तीन गरी छ सदस्यीय समितिले हतियार अनुगमनको नेतृत्व गर्ने सहमति बनेको उच्चस्रोतले बतायो ।
प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहाललगायतका नेताहरु अनमिनको अनुपस्थितिमा उसले गर्दै आएको कामको जिम्मेवारी लिने संयन्त्रण निर्माणमा भएको सहमतिसहितको पत्र शुक्रबार दिउँसो हुने अनमिनको 'फ्ल्याग डाउन सेरोमोनी' अघि अनमिनलाई दिन सहमतसमेत भएका छन् । विशेष समितिको कार्यादेशले नसमेट्ने विषयमा पनि समिति र सचिवालयका गरी छ सदस्यीय समितिले छलफल गरी सहमति गर्ने जनाइएको छ । यही समितिले स्थानीय तहमा अनुगमनका लागि कस्तो संयन्त्र बनाउने निर्णय गरी छिट्टै आवश्यक जनशक्ति भर्नाको प्रक्रिया थाल्ने स्रोतले बतायो ।
समितिले अनमिनको अनुपस्थितिमा अन्तरिम संविधान, शान्ति सम्झौतालगायतमा गर्नुपर्ने संशोधनको खाकासमेत तय गरी सुझाव दिनेछ । बैठकमा नेताहरु बीच बृहत शान्ति संम्झौता, अन्तरिम संविधान र सेना र हतियार अनुगमन सम्बन्धी सम्झौता यथावत रहने र शान्ति प्रकृयालाई यथावत रुपमा अघि बढाउने सहमति भएको हो । माओवादी यसअघि अनमिन फर्केपछि युद्ध विरामको अबस्थामा पुग्ने बताउँदै आएको थियो ।
माओवादी नेता बर्षमान पुनले बैठकपछि माओवादी लडाकुको ७ ठाउँ र नेपाली सेनाको एक ठाउँमा भण्डारण गरिएको हतियार अनुगमन संयन्त्र बनाउने कुरामा सहमित नजिक पुगेको बताए । यस अघि अनमिनको म्याद थप्नु पर्ने अडानमा रहेको माओवादी नेताहरुले शुक्रकार भने अनिमनको म्याद थप्न र 'टेक्निकल रोलओभर' संभव नभएको कुरा स्वीकार गरेको थियो । माओवादी अध्यक्ष दाहालले अनमिन पछिको शान्ति प्रकृयाको बारेमा छलफल भएको र सहमतिको नजिक पुगेका बताए ।
बैठक फेरी दिउसो ३ बजे बस्ने र त्यसपछि सहमित सार्वजनिक गर्ने बताइएको छ । गृह मन्त्री भीम रावलले भने शान्ति प्रकृयाका बारेमा छलफल भएको र छलफल सकरात्मक रहेको बताए । बैठकमा प्रधानमन्त्री नेपाल, दाहाल,माओवादी उपाध्यक्ष मोहन बैद्य,गृहमन्त्री रावल,पुन र एमाले महासचिव इश्वर पोखरेल सहभागी थिए ।

No comments: