News

Jan 16, 2011

आफैंले आफूलाई अपहरण गरेको आरोपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहपाठी विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्दै गरेको र परिवारको दबाबमा 'हेल्थ असिस्टेन्ट' पढ्नु परेपछि आफैंले आफूलाई अपहरण गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर-५ जामुनगाछीमा डेरा गरी बस्ने रञ्जित मेहता (१९) लाई शनिबार पक्राउ गरेको छ। सशस्त्र र अपराधिक समूहको उतिसारो चलखेल नरहेको विराटनगरमा 'आफैंले आफूलाई' अपहरण गर्ने घटना बढेको छ। भदौयता यस्ता अपहरणको तीनवटा घटना भएका छन्। सुनसरी वसन्तपुर-६ का मेहता विराट हेल्थ कलेजमा हेल्थ असिस्टेन्ट पढिरहेका छन्। सहपाठीजस्तै बिएस्सी पढ्ने सपना साँचेका मेहताले हेल्थ असिस्टेन्ट अध्ययनका लागि अभिभावकले कलेजमा बुझाएको ४० हजार रुपैयाँ धरौटीसमेत झिकेर अपहरणमा परेको ढोंग रचेको प्रहरीले जनाएको छ।
'मेहताले फिरौती माग्नसमेत आफ्नै मोबाइलबाट स्वर बदलेर परिवारलाई फोन गरे,' मोरङका प्रहरी उपरीक्षक दीपक थापाले शनिबार पत्रकार सम्मेलनमा भने, 'फोन गरिएको एरियामा उनको उठबस रहेकोले आफैंले आफूलाई अपहरण गरेको हाम्रो अनुमान थियो।' मेहताले स्वर बदलेर भाइ सन्तोष, काका सत्यनारायण र दाजु प्रमोदलाई फोन गरेर रिहाइका लागि ५ लाख रुपैयाँ फिरौती मागेको प्रहरीको भनाइ छ। नक्कली अपहरणमा परिवारलाई व्यग्र चिन्ता र सुरक्षा संयन्त्रको जनशक्ति र साधन स्रोत अनावश्यक परिचालन गर्न लगाएकाले मेहताविरुद्ध मोरङ प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्न लागेको थापाले जानकारी दिए।
प्रहरीसँगको बयानमा मेहताले सहपाठीजस्तै बिएस्सी पढ्न मन रहेकाले पढाइ खर्च जुटाउन 'अपहरण' को नाटक गरेको बताए। तर, पढाइ खर्च जुटाउन अपहरण रचेको मेहताको भनाइमा प्रहरी विश्वस्त छैन। 'विलासी जीवन जिउन वा मोजमस्ती गर्न उसले त्यत्रो रकम मागेको हुनुपर्छ,' एक प्रहरी अधिकारीले भने। यसअघि भदौ १९ गते विराटनगर-७ बस्ने २० वर्षीय राहुल गुप्तालाई प्रहरीले आफूले आफैँलाई अपहरण गरेको आरोपमा पक्राउ गरी कारबाही चलाइसकेको छ। युवतीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि राहुलले आफू अपहरण भएको नाटक मात्र गरेनन्, अपहरणकारीलाई बुझाउन आफन्तबाट लिएको २० हजार रुपैयाँ फिरौती रकम पनि आफैंले कुम्ल्याए। अपहरित छुटाउन मोरङ, सुनसरी, सप्तरी, सिरहा, बारा, पर्सा र जनकपुरका प्रहरीले ठूलो सास्ती व्यहोर्नु परेको थियो। राहुलले सोनापुरस्थित एक युवतीलाई प्रेम प्रस्ताव राखेको तर तिनले अर्कै युवकलाई मन पराउँछु भनेपछि आफैंले आफैंलाई अपहरण गर्नुपरेको स्वीकारेका थिए। राहुललाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही भइरहेको छ। यस्तै, असोजमा लुकीचोरी ल्याएको समान काकडभिट्टामा प्रहरीले जफत गरेपछि साहुलाई झुक्याउन झापा दमक-११ बस्ने सीता नगरकोटीले अपहरणमा परेको घटना रचेकी थिइन्। अपहरणमा परेको सूचनाको आधारमा मोरङ प्रहरीले खोजतलास गर्दा उनलाई विराट नर्सिङ होम अगाडि फेला पारेको थियो। उनले आफूले आफैलाई अपहरण गरेको हल्ला फिँजाएको प्रहरीको दाबी छ। 'पैसाका लागि विभिन्न बहाना बनाउँदै आफैँले आफूलाई अपहरणमा पारेर मोटो रकम असुल्ने डरलाग्दो प्रवृत्ति बढेको छ,' मोरङका एसपी थापाले भने, 'सशस्त्र र आपराधिक समूहको देखासिकीका कारण परिवार र प्रहरीले अनावश्यक तनाव झेल्नु परिरहेको छ।'

No comments: