News

Jan 15, 2011

लेनग्रेनद्वारा सहमतिको स्वागत/उपकरणहरु छाडिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १ - राष्ट्रसंघीय मिसन (अनमिन) बन्द भएपछि हतियार तथा सेनाको अनुगमनलाई निरन्तरता दिनेसम्बन्धमा सरकार तथा माओवादी बीच शुक्रबार राति सहमति भएकोमा महासचिवका प्रतिनिधि करिन लनग्रेनले स्वागत गरेका छन् । अनमिनले शनिबार रातिदेखि काम बन्द गर्दैछ । 'शान्ति प्रक्रियामाथिको आस्थालाई सुदृढ गर्नका लागि अत्यन्त महत्त्वपूर्ण हतियार तथा सेनाको अनुगमनसम्बन्धी प्रबन्धका सम्बन्धमा सहमतिमा पुगेकोमा म सरकार तथा माओवादीलाई बधाई दिन चाहन्छु' शनिबार साँझ जारी बिज्ञप्तिमा उनले भनेकी छन्, 'यो सफलतालाई निरन्तरता दिँदै पक्षहरूले लामो समयदेखि बाँकी रहेको माओवादी सेनाका सदस्यहरूको समायोजन तथा पुनःस्थापनाको कामलाई चाँडै कार्यान्वयन गर्नेछन् भन्ने आशा मैले लिएकी छु।'
उनले अन्तिम समयमा भएपनि सहमतिले सीसीटीभी क्यामराका उपकरणसहित अनुगमनसम्बन्धी अन्य सामाग्रीहरूको संयुक्त राष्ट्रसंघको कार्यविधि अनुरूप अस्थायी रूपमा सापटी र पछि सरकारलाई अनुदानमा दिनका लागि बाटो खोल्ने उल्लेख गरेकी छन् । 'संयुक्त राष्ट्रसंघको सम्पत्ति हस्तान्तरण गर्ने विषयमा विचार गर्नका लागि आवश्यक सहमति भएको आभास हुन्छ' उनले भनेकी छन् ।
संयुक्त राष्ट्रसंघले नयाँ अनुगमन संयन्त्रलाई यथासक्य सहयोग निरन्तर दिने र शिविर छोड्न केही घण्टा बाँकी रहेपनि अन्मिनका हतियार अनुगमनकर्ताहरू उक्त नयाँ संयन्त्रका सदस्यहरूलाई व्रिफिङ दिने तयारी गरिरहेका उनले बताएकी छन् ।
शुक्रबार नै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले महासचिवका प्रतिनिधि तथा अनमिन टोलीको सराहना गर्नुका साथै शान्ति प्रक्रिया प्रति आफ्नो सहयोग जारी रहने कुरा दोहोर्याएको पनि उल्लेख गरिएको छ । समयमै नयाँ संविधान जारी गर्ने लगायत शान्ति प्रक्रियाका बाँकी रहेका मुद्दाहरूको तदारुपताका साथ समाधान खोज्ने आफ्नो प्रतिबद्धतालाई पूरा गर्न सहमति भावनाका साथ सहकार्य गर्न सरकार तथा दलहरूलाई सुरक्षा परिषद्ले आव्हान गरेको पनि बिज्ञप्तिमा छ ।

No comments: