News

Jan 11, 2011

मसाज गराउन कृषिमन्त्रीको घरमा दुई कामदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ पुस,कृषिमन्त्री मृगेन्द्रकुमार सिंहले जमिन्दारी शैलीमा मन्त्रीक्वाटरभित्रै बिहान-बेलुका मसाज गराउन मात्र दुईजना मान्छे राखेका छन् । मन्त्री सिंह हरेक दिन दुईपटक मसाज गराउँछन्- बिहान ९ बजे र राति सुत्नुअघि । मसाज गराउन मात्रै उनले आफ्नै गाउँबाट दुईजना युवा काठमाडौं ल्याएका छन् । तीस वर्षका बलराम यादव र उमेश देव अशिक्षित छन्, नेपाली पनि राम्ररी बोल्न सक्दैनन् । मसाज गरेर भने उनीहरूले मन्त्रीलाई सन्तुष्ट बनाएका छन् । उनी आफैं भन्छन्, 'बिहान नुहाउनुअघि र राति सुत्नुअघि मसाज गराउँछु, तोरीको तेल लगाएर मसाज गरेपछि नुहाउन बडो आनन्द आउँछ ।' उनी हरेक दिन बिहान पाँच बजे उठ्छन् । त्यसपछि निवासको प्रांगणभित्र मर्निङवाक र योगा गर्छन् । योगापछि उनी करिब एक घन्टा मसाज गराउँछन् । बेलुका १० बजेभित्र उनी सुतिसक्छन्, तर सुत्नुअघि करिब एक घन्टा फेरि मसाज गराउँछन् ।
आफ्नो जीवनशैली सोखिन भएकोमा उनी दंग छन् । 'सानैदेखि मसाज गराउँथेँ । यो मेरो सोख हो,' उनी भन्छन्, 'मेरो जीवनशैली बडो आनन्दको छ ।' राजनीतिमा लागेको मान्छेले पनि आफ्नो शैलीमा बाँच्न पाउनुपर्ने सिंहको तर्क छ । 'मन्त्री भएपछि भोकभोकै बस्नुपर्छ, दुःख पाउँछ भन्ने होइन । मन्त्रीको पनि आफ्नो जीवन हुन्छ । उसले आफ्नो जीवन आफ्नोअनुसार चलाउन पाउनुपर्छ,' उनी भन्छन् ।
मन्त्रीको निजी काम गर्न पाँचजना मान्छे छन् । ती सबै उनको पुख्र्यौली घर राजविराजबाट ल्याइएका हुन् । उनले कर्मचारीलाई पनि व्यक्तिगत सेवामा लगाएको भनेर स्वकीय सचिवले त राजीनामा दिएका छन् ।
तीन महिनासम्म स्वकीय सचिवको काम गरेका लोकतान्त्रिक फोरमका कार्यकर्ता मनोज मेहता भन्छन्, 'मन्त्रीले मलाई निजी काम लगाउन थालेपछि राजीनामा दिएको हुँ, कामै गर्न सकिएन,' उनले भने । तर, मन्त्रीले कस्तो निजी काम लगाए भन्ने उनले खुलाउन चाहेनन् । सिंह ०४३ सालमा राजनीतिमा प्रवेश गरेका हुन् । सुरुमै उनी राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । 'मन्त्रीज्यू खान्दानी मान्छे हुनुहुन्छ । त्यसैले उहाँको जीवनशैली सोखिन र रोमाञ्चक छ,' पूर्व स्वकीय सचिव मेहता भन्छन् ।
मन्त्री सिंहले छोरी बबीलाई स्वकीय सचिव नियुक्त गरेका छन् । छोरी पनि बिहे गरी मोरङमा बस्न थालेकी छिन् तर औपचारिक स्वकीय सचिव उनै हुन् ।

No comments: