News

Jan 30, 2011

अन्तर्राष्ट्रिय फिल्म महोत्सवको निर्णायकमा नेपाली चेली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर/ प्रख्यात फ्रान्सेली फिल्मकर्मीसँगै नेपाली कलाकर्मीलाई पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकका रूपमा देख्न पाइने भएको छ । फ्रान्सेली संस्कृति मन्त्रालयअन्तर्गतको गिमेले नेपाली कलाकर्मी शोभा चन्दलाई जुरीमा आमन्त्रण गरेको छ । फ्रान्सको भेजुलमा फेब्रुअरी ८ देखि १५ तारिखसम्म अहुने '१७औँ भेजुल इन्टरनेसनल फिल्म फेस्टिभल-२०११' का लागि शोभा जुरीमा चयन गरिएकी हुन् । सो महोत्सवको तीन सदस्यीय जुरीका अन्य सदस्यमा विश्वप्रख्यात चलचित्रकर्मी हवर्ट लस र अन्ना निकेल हट छन् । शोभाले आफूलाई सो महोत्सवको जुरीमा बस्ने प्रस्ताव आएको र आफूले स्वीकार गरिसकेको बताइन् । भेजुल फिल्म महोत्सवको जुरीमा छनोट भएका हवर्ट लस फ्रान्सका प्रख्यात निर्देशक हुन् । उनी यसअघि पनि पटक-पटक भेजुलको जुरी रहिसकेका छन् । त्यस्तै अर्की जुरी मेम्बर अन्ना हट फ्रान्सेली संस्कृति मन्त्रालयअन्तर्गत कला संस्कृति विधा हेर्ने चर्चित फिल्मकर्मीर् हुन् । अन्ना १६औँ भेजुल फिल्म महोत्सवमा पनि जुरी रहेकी थिइन् । पेरिसमा थिएटर निर्देशनसमेत गर्दै आएकी नेपाली कलाकर्मी शोभा पेरिसको एक विश्वविद्यालयमा प्राध्यापक छिन् । बैतडी स्थायी घर भएकी शोभाले यसअघि कलाकर्मीका तर्फबाट भेजुलमा सहभागिता जनाउँदै आएकी थिइन् । आफू भेजुल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको जुरीमा आमन्त्रित हुन पाउनु सम्पूर्ण नेपालीका लागि खुसीको कुरा भएको बताउँदै अनलाइन कुराकानीमा शोभाले भनिन्, 'सांस्कृतिक विविधता जगेर्नाका लागि जिन्दगी नै खर्चेका हवर्ट र अन्नासँगै जुरीमा बस्नु पाउनु मेरा लागि ठूलो कुरा हो ।'
युरोपकै पुरानो महोत्सवका रूपमा हेरिने भेजुल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा टर्कीदेखि जापानसम्मका फिल्म सहभागी हुन्छन् । सन् २००३ को भेजुल महोत्सवमा नेपाली निर्देशक नवीन सुब्बाको 'नुमाफुङ' सहभागी थियो । महोत्सवमा नुमाफुङले 'पब्लिक च्वाइस अवार्ड' जितेको थियो । भेजुल महोत्सवमा संसारभरिका चर्चित कलाकर्मीर्को सहभागिता रहन्छ । नेपालीले भेजुल महोत्सवको जुरी हुनु पाउनु गौरवको कुरा भएको शोभा बताउँछिन । 'प्रविधिले साँघुरिँदै गएको संसारमा सामाजिक र सांस्कृतिक सीमा बदलिँदै छन्,' भाषा-राजनीतिकी प्राध्यापक शोभाले भनिन्, 'भाषा र संस्कृति लोप भइरहेका वेला सांस्कृतिक पहिचान जोगाउन सक्नु नै ठूलो कुरा हो ।' भेजुलको जुरीमा चयन भएपछि नेपाली भाषा र संस्कृतिलाई विश्वभरिका कलाकर्मीमाझ ल्याउन अवसर मिल्ने ठम्याइ छ उनको ।

No comments: