News

Jan 20, 2011

भिसा प्रमाणीकरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भिसा आवेदनका लागि पेस गरिने स्थानीय निकायका कागजात नक्कली पाइन थालेपछि दूतावासहरूको आग्रहमा स्थानीय विकास मन्त्रालयले मातहत निकायले जारी गरेका कागजात प्रमाणीकरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आवेदनसँगै पेस गरिने व्यक्तिगत घटना दर्तालगायत स्थानीय निकायले जारी गरेका कागजात नक्कली भेटिन थालेपछि दूतावासहरूले यसअघि नै प्रमाणीकरण गराउन कडाइ गर्दै आएका थिए।
व्यक्तिगत प्रमाणपत्र प्रमाणीकरण गर्ने संयन्त्र अभावमा उनीहरूले शंकास्पद आवेदन फिर्ता पठाउने गरेका थिए। यसरी भिसा आवेदन फिर्ता भएका सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि मन्त्रालयले यसै साता नयाँ व्यवस्था गरेको हो। परराष्ट्रले पनि जारी भएको निकायबाट पहिले प्रमाणित गरेर ल्याएमात्र प्रमाणीकरण गर्न सकिने जनाउँदै फिर्ता पठाउने गरेको थियो। 'परराष्ट्रले केही वर्षअघिदेखि नै यस्तो समस्याबारे हामीलाई जानकारी गराएको थियो। सामान्य होला भनेर ध्यान दिएका थिएनौं,' उपसचिव गौलीले भने, 'तर, प्रमाणीकरणसँग धेरैको भविष्य जोडिएको र समस्या गम्भीर रहेको बुझेपछि हामीले यो व्यवस्था गरेका हौं।'
पुस २९ गते स्थानीय विकास मन्त्रालयको सचिवस्तरीय बैठकले प्रमाणीकरण व्यवस्था गर्ने निर्णय लिएको थियो। निर्णयअनुसार गाविसबाट जारी भएका व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र पहिले स्थानीय विकास अधिकारी र जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृतबाट प्रमाणित गर्नुपर्ने हुन्छ। नगरपालिकाबाट जारी प्रमाणपत्रहरू भने नगरपालिकाका कार्यकारी अधिकृत तथा प्रशासन प्रमुखले हस्ताक्षर गर्ने प्रावधान गरिएको छ।
गौलीका अनुसार स्थानीय विकास अधिकारी, अनुगमन तथा प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत तथा प्रशासन प्रमुखले प्रमाणित गरेका प्रमाणपत्रलाई स्थानीय विकास मन्त्रालयको जनसंख्या तथा पन्जीकरण व्यवस्थापन शाखाले पुनः प्रमाणित गर्नेछ। त्यसपछि मात्र प्रमाणपत्रको अन्तिम प्रमाणीकरण परराष्ट्रले गर्नेछ।

No comments: