News

Jan 13, 2011

एक्लै ४० डाँका तह लगाउने बहादुर बिष्णुप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, पुस २७ - एक्लै ४० डाँकालाई परास्त गरी थुप्रै यात्रुको धनमाल र युवतीको इज्जत जोगाउन सफल भारतीय सैनिकमा कार्यरत पोखरा, ६ बैदामका बिष्णुप्रसाद श्रेष्ठलाई भारत तथा स्थानीयस्तरमा सम्मानको ओइरो लागेको छ । आफ्नो १७ बर्षे सैनिक सेवाबाट निबृत्त भएर घर फर्किने क्रममा रेलमा आक्रमण गर्ने डाँकालाई परास्त गरेका ३५ वर्षिय श्रेष्ठ यतिबेला गाउँटोल तथा भारतभर चर्चामा छन् । घटनापछि उनी निबृत्तबाट फेरि सेवामा फर्काइएका छन् भने बढुवाको अवसर मिल्दैछ । साथै विभिन्न पदकबाट विभुषित हुँदै लाखौ नगद पुरस्कार पनि हात पर्दैछ । भारतको राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै फर्किनेक्रममा गत सेप्टेम्बर २ को मध्यरातमा पश्चिम बंगालको चित्तरंजनमा मौरिना एक्सप्रेसको रेलमा डाँकाहरुले आक्रमण गरेका थिए । डाँकाले यात्रीको नगद, मोबाईलसेटलगायत अन्य सामान लुट्दै श्रेष्ठनजीकै आए । 'मसंग पनि सामान र पैसा मागे, मैले दिन्न भनेपछि थप्पड लगाए', उनले भने, 'प्रतिकारमा एक्लै १० जनालाई ढलाए ।' त्यसपछि डाकाले एक युवतीमाथि बलत्कारको प्रयास गर्न थालेका र मानवीय कर्तब्य संझेर प्रतिकारमा उत्रिएको उनले बताए ।
घटनापछि रिटायर्ड श्रेष्ठलाई अहिले सेवामा हाजिर गराइएको छ । उनलाई भारत सरकारका तर्फबाट दिईने सौर्य चक्र, सर्बोत्तम जीवन रक्षापदक र गोडरे फिलिप्स ब्रेभरी अवार्डकालागि प्रस्ताव गरिएको छ । तिनवटै अवार्डमा छनौट भए उनले कम्तीमा एक करोड भारतीय रुपैयाँ, हवाई तथा रेल यात्रामा विशेष सुविधा, मासिक भत्ता र पेन्सन पनि तीन पुस्ताले पाउनेछन । श्रेष्ठले सौर्य चक्र र सर्बोत्तम जीवन रक्षा पदक लगभग निश्चित भैसकेको र यही २६ जनवरी तथा अगस्ट १५ मा अवार्डको घोषणा हुने बताए ।
बहादुरी काम गरेको भन्दै श्रेष्ठलाई तत्कालै सेवामा प्रवेश गराउँदै कमाण्डिङ अफिसरले ५० हजार नगद र उपहार दिएका थिए । यसकासाथै बैदामको मितेरी नारी समुहले पनि श्रेष्ठलाई हालै सम्मान गर्‍यो । पोखरास्थित भारतीय पेन्सन क्याम्पका अधिकारीले पनि स्याबासी दिएका थिए ।
घटनामा श्रेष्ठले एक डाकालाई रेलकै शौचालयमा थुनिदिएका थिए भने तीन जनाको खुकुरी प्रहारबाट मृत्यु र ८ जना घाईते भएका थिए । उनीहरुबाट ५० ल्यापटप, २० लाख नगद, २ सयथान मोबाईल सेट, एकदर्जन सुनका सिक्री बरामद गर्न श्रेष्ठ सफल भएका थिए ।
डाकाको आक्रमणमा श्रेष्ठको देब्रेहातमा चोट लागेकोमा तीन महिनाको उपचारपछि निको भएको थियो । एक महिना छुट्टीमा आएका श्रेष्ठलाई आउने र जानेक्रममा दुई सुरक्षाकर्मी संगै पठाइएको छ । बाबु गोपालप्रसादले छोराले यति ठूलो बहादुरीको काम गर्दा निकै खुशी लागेको भन्दै सर्वसाधारणलाई बचाउनु फौजीको कामै रहेको बताए । श्रीमती सीताले पनि आफु बाँचेर ठूलो काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरिन् । 'घटनाले परिवारकै नाम र सम्मान् बढेको छ' उनले भनिन् ।

No comments: