News

Jan 19, 2011

२०७० देखि अस्थायी शिक्षक नराखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आगामी २०७० सालदेखि मुलुकभरका सरकारी विद्यालयमा अस्थायी शिक्षक नराख्ने भएको छ। देशभर रहेका करिब २५ हजार अस्थायी शिक्षकले स्थायी हुन परीक्षा दिनुपर्नेछ। गएको पुस २८ गते बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले शिक्षाको छैठौं नियमावली संशोधन र शिक्षक सेवा आयोग पाँचौ संशोधन गरी अस्थायी शिक्षक नराख्ने व्यवस्था गरेको हो।शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले २०७० सालसम्म मलुकमा १ जना पनि अस्थायी शिक्षक नरहने बताउनुभयो। उहाँले नयाँ शिक्षक लिनु परेमा करारमा नियुक्ती गर्न सकिने जानकारी दिनुभयो।शिक्षा मन्त्रालयले राहत कोटालगायत अन्य क्षेत्रमा कार्यरत शिक्षकलाई भने अस्थायी शिक्षकभित्र समावेस गरिएको छैन। अब रिक्त दरबन्दीमा स्थायी शिक्षक नियुक्तिको प्रक्रिया बढाइने बताउँदै मन्त्रालयका सहसचिव शर्माले हाल अस्थायी सेवामा कार्यरत शिक्षकले स्थायी नियुक्तिको परीक्षामा सफल हुननसके स्वतः सेवाबाट हट्न सक्ने उल्लेख गर्नुभयो। नियमावली राजपत्रमा प्रकाशित भएलगत्तै शिक्षक सेवा आयोगले करिब २३ हजार स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने तयारीमा रहेको मन्त्रालयले जनाएको छ। आयोगले लिने स्थायी नियुक्तिको खुला परीक्षामा माग गरिएको पदको संख्याको ५० प्रतिशत थपको नाम प्रतीक्षासूचीमा राख्नुपर्ने नयाँ व्यवस्था नियमावलीमा गरिएको छ। प्रतीक्षासूचीमा रहेकाहरुमध्येबाट मात्र जिल्ला शिक्षा कार्यालयले करार शिक्षक राख्नसक्ने व्यवस्था गरिएको छ।

No comments: