News

Jan 25, 2011

लिम्बुवानको नियमित बन्द माघ १५ मा नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ
९ माघ २०६७,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्व्र ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि आह्वान गरिएको प्रत्येक महिनाको १५ गते लिम्बुवान बन्द हुने कार्यक्रम यस माघ महिनाको १५ गते शनिवार परेको तथा धरान महोत्सव, धिमाल महोत्सव र दाहाल बन्धुहरुको राष्ट्रिय महाधिवेशन सोही दिन परेको साथै एकात्मक मतदाता नामावली सङ्कलनको विरुद्धमा कुनै पनि बेला हड्ताल गर्नुपर्ने भएकोले यो माघ १५ गते हुने लिम्बुवानबन्दको कार्यक्रमलाई स्थगित गर्ने निर्णयका साथ सो दिन लिम्बुवानमा कुनै बन्द नहुने भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय समितिको बैठक यही माघ ६ गते दमकमा बसी उपरोक्त निर्णय गरिएको व्यहोरा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा हस्ताक्षिरित एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।त्यसैगरी, नेपालको पुरानो एकात्मकवादी राष्ट्रिय झण्डालाई संघीय नेपालको पनि राष्ट्रिय झण्डा बनाइनु पर्छ भनी केही एकात्मकवादी पार्टीहरुबीच भएको सहमतिप्रति परिषदले घोर आपत्ति विरोध र असहमति जाहेर गरेको छ । सङ्घीय नेपालको लागि नयाँ र सङ्घीय प्रकारकै राष्ट्रिय झण्डा हुनुपर्छ भन्ने परिषदले माग गरेको छ । त्यसरी नै लिम्बुवानको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउनको लागि लिम्बुवानको विराटनगर, खाँदबारी र इनरुवामा विशाल लिम्बुवानी आमसभाहरु गर्न तयारी समितिहरु गठन गरिएको जनाइएको छ । यसरी नै, निर्वाचन आयोगलाई एकात्मक मतदाता नामावली सङ्कलन कार्य रोक्न पुनः अनुरोध गर्ने र त्यसपछि पनि जबर्जस्ती गर्न खोजिएमा सशक्त विरोध गर्ने; मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले यही चैत मसान्तसम्ममा ३५ हजार क्रियाशील सदस्यता-पत्र वितरण गर्ने; परिषदका केन्द्रीय सदस्य जसबहादुर योङ्हाङ्को घाँटीमा क्यान्सर भएकोले उहाँको स्वास्थ्योपचारमा सबै क्षेत्रबाट सहयोगको लागि अनुरोध गर्नेलगायतका निर्णयहरुसमेत गरिएको कुरा प्रेसित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments: