News

Aug 7, 2011

आजदेखि जहाँ पायो त्यही धूमपान गर्न सरकारले मनाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सावधान ! आजदेखि जहाँ पायो त्यही धूमपान गर्न सरकारले मनाही गरेको छ । धूमपान गर्ने आदत छ भने सावधान ! अब सार्वजनिक स्थानमा चुरोट, खैनी खान पाइने छैन । यो नयाँ कानुनको उल्लंघन गरे सय रुपैयाँ जरिवाना तिनुपर्ने छ । त्यति नभए, कम्तीमा उक्त स्थलबाट भने तपाईंलाई बाहिर निकालिनेछ । 'सार्वजनिक स्थलमा चुरोट, बिँडी, हुक्का, सिगार वा धूवाँका रूपमा सुर्ती सेवन गर्न र पान, खैनी, गुटखा आदि चपाउन पाइने छैन,' राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले भने । शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालय, सरकारी भवन, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेस्टुरेन्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता सार्वजनिक स्थलमा धूमपान रोकिएको हो । त्यस्ता स्थलबाट कम्तीमा सय मिटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइने छैन । स्वास्थ्य मन्त्रालयका कानुनी अधिकृत कोमल आचार्यका अनुसार अनुसार १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पनि पाइँदैन ।
सार्वजानिक स्थानमा धूमपान प्रतिबन्ध लगाउने यस ऐनले सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेटको कम्तीमा पचहत्तर प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुसमेत पर्नेछ । तर चित्र सन्देशको प्रावधान भने कात्तिक १८ गतेदेखि लागू हुनेछ । नयाँ कानुनअनुसार विदेशी ब्रान्डका उत्पादनहरू पनि प्रभावित भएका छन् । विदेशी ब्रान्डका चुरोट, बिँडी र खैनी आयात गर्दा पनि ती चुरोट, बिँडी र खैनीको बट्टा वा पाकेटको पनि उक्त सन्देश र चित्र उल्लेख हुनुपर्नेछ । खड्का अनुसार उरुग्वेपछि चेतावनीमूलक सन्देश र चित्र कम्तीमा ७५ प्रतिशत भागमा छाप्ने नेपाल विश्वमै दोस्रो देश हो ।

No comments: