News

Aug 8, 2011

नेपाली सेनाका विरुद्ध जाहेरी दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रहरी कार्यालय रामेछापमा नेपाली सेनाविरुद्ध जाहेरी दर्ता गरिएको छ । द्वन्द्वकालमा माओवादीको आरोपमा गिरफ्तारपछि हत्या गरिएका रामेछाप देउराली गाविसका नेत्रबहादुर कार्की, राजकुमार केसी, टेकबहादुर बस्नेत, प्रकाश बस्नेत तथा रामेछापकै तिल्पुंगका दयानारायण श्रेष्ठका परिवारले प्रहरी समक्ष जाहेरी दर्ता गराएका हुन् । तत्कालिन नेपाली सेनाको नारायण दल गुल्म रामेछापबाट खटिएको टोलीले घरबाट पक्राउ गरी हत्या गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा तत्कालिन गुल्मपति सेनानी राममणि पोखरेल र सहायक सेनानी रणोद्धिप राईलाई बिपक्षी बनाइएको छ । तिल्पुंगका दयानारायण श्रेष्ठ बाहेक अन्य चारजनालाई २०५९ साल कार्तिक ७ गते सेनाले पक्राउ गरी हत्या गरेको थियो । श्रेष्ठलाई भने २०५९ कार्तिक १५ गते पक्राउ गरी सोही दिन सेनाले हत्या गरेको पीडित परिवारले बताएका छन् । यसअघि २०६६ मंसिर २५ गते एड्भोकेसी फोरमको कानुनी सहायतामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि पीडित परिवारले जनकपुर पुनवरावेदन अदालतमा रिट दर्ता गरेका थिए । अदालतले २०६७ कार्तिक १६ गते जाहेरी दर्ता गरी कारबाही अगाडि बढाउन प्रहरीलाई आदेश दिएको थियो । पीडित परिवारलाई एड्भोकेसी फोरमले कानुनी सहायता प्रदान गर्दै आएको छ ।

No comments: