लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २२,अन्तर्राष्ट्रिय बजारमा भएको उच्च मूल्य वृद्धि पछ्याउँदै स्थानीय बजारमा यस साता सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । झन्डै २ वर्षदेखि लगातार बढेको बहुमूल्य पहेंलो धातुको मूल्यमा यस साता तोलामा झन्डै १ हजार ५ सय रुपैयाँ वृद्धि भएपछि मूल्य उच्च बिन्दुमा पुगेको हो ।
सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य ४४ हजार ७ सय -दस ग्राममा ३८ हजार ३ सय २५) रुपैयाँ कायम भएको थियो । शुक्रबार यो बढेर तोलामा ४६ हजार १ सय ५० (दस ग्राममा ३९ हजार ५ सय ६५) रुपैयाँ कायम भयो । यो वृद्धिदर र अन्तर्राष्ट्रिय बजारमा भएको अनुमानले छिट्टै सुन मूल्य तोलामा ५० हजार रुपैयाँ पुग्ने सम्भावना प्रवल बन्दै गएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । उच्चदरमा बढेको मूल्यले स्थानीय बजारमा सुनको मागसमेत घटाएको उनको भनाइ छ ।
युरोपमा देखिएको बैकिङ समस्यासँगै हाल अमेरिकामा पुनः आर्थिक संकट बढ्ने सम्भावनाको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको हो । अमेरिकी आर्थिक संकटको डरले अन्य विदेशी मुद्राको दाँजोमा अमेरिकी डलर कमजोर भएको र सेयर बजारमा समेत गिरावट आएपछि लगानीकर्ताहरू सुरक्षित लगानी क्षेत्रको रूपमा सुनतर्फ आकषिर्त भएका हुन् । लगानी भित्रिएपछि बढेको मागको कारण सुनको मूल्यमा उच्च वृद्धि भएको हो ।
No comments:
Post a Comment