लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले सोमबार एमाले महासचिव ईश्वर पोखरेललाई भेटी नयाँ बन्ने संविधानमा एनआरएनको नेपाली नागरिकता कायम राख्ने व्यवस्था गरिदिन स्मरणपत्र बुझाएको छ । संघका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आफूहरु कामका सिलसिलामा मातृभूमिभन्दा बाहिर रहनुपरे पनि सधैं नेपाली नै रहेको उल्लेख गर्दै नागरिकताका सम्बन्धमा संविधानसभाभित्र मुख्य दल सम्मिलित उच्चस्तरीय समितिमा भएको सहमतिलाई नयाँ संविधानमा अझ स्पष्ट पारी लिपिबद्ध गर्न आग्रह गरेको छ । स्मरणपत्र ग्रहण गर्दै महासचिव पोखरेलले 'एकपटक नेपाली नागरिकताप्राप्त व्यक्ति सो नागरिकता नत्यागेसम्म नेपाली नागरिक नै रहने' भन्ने भनाइप्रति आफ्नो सहमति रहेको बताए । उनले कला, क्षमता, शिक्षा तथा व्यवसायका लागि बिदेसिएका नेपालीहरुको पौरख र अनुशासनलाई आधार मानी सम्बन्धित देशको संविधानबमोजिम नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता स्वतः खारेज हुन नहुनेमा जोड दिए । "गैरआवासीय नेपालीले उठाउँदै आएको नागरिकताको सवालमा हाम्रो पार्टी गम्भीर छ र तपाईंहरुले उठाउँदै आएको माग सम्बोधन गर्न पार्टीले अधिकतम पहल गर्नेछ," उनले भने । प्रतिनिधिमण्डलमा एनआएएनए उपाध्यक्ष जीबा लामिछाने, कोषाध्यक्ष रामेश्वर साह, युरोप संयोजक हितमान गुरुङ, साइप्रसका संयोजक विश्वराज घिमिरे, बेलायतका संयोजक भक्त गुरुङ, युरोप संयोजक हितमान गुरुङ, संरक्षक भीम उदासलगायत सहभागी थिए ।
No comments:
Post a Comment