News

Jan 5, 2011

प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट भएको छ । भेटका अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री नेपालले राष्ट्रसङ्घीय मिसन अनमिन गएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख, समायोजन र पुनःस्थापनाका लागि विशेष समितिमार्फत संरचना निर्माण गर्न ढिलो भइरहेकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
उहाँको भनाइ थियो - 'चार महिना पहिले नै तपाईं र मेरोबीचमा भएको लिखित समझदारीअनुरुप अहिले अनमिन बिदा हुँदैछ । विशेष समितिले बाँकी जिम्मेवारी निर्वाह गर्ने सहमति पनि भइसकेको छ । यसका लागि कार्यविधि, आचारसंहितालगायतका आवश्यक दस्तावेजहरु पनि बनिसकेका छन् । अब यसलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्न आवश्यक छ ।'
जवाफमा अध्यक्ष दाहालले आफू पनि छिटो शान्तिप्रक्रिया निष्कर्षमा पुगोस् र संविधान निर्माण होस् भन्ने पक्षमा रहेको जानकारी दिँदै त्यसका लागि तीनदलको बैठक आयोजना गर्न आग्रह गर्नुभएको थियो ।यसअघि प्रधानमन्त्री नेपालले मङ्गलबार साँझ एमाओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईसँग पनि सोही विषयमा कुराकानी गर्नुभएको थियो ।
प्रधानमन्त्री नेपालले आजै दिउँसो १ बजे यस सम्बन्धमा छलफल गर्नका लागि विशेष समितिको बैठक बोलाउनुभएकोमा विशेष समितिका सदस्य वर्षमान पुनले आफू भारत भ्रमण जान लागेकाले आफू आएपछि बोलाउन आग्रह गरेअनुसार बैठक स्थगित भएको छ ।

No comments: