News

Aug 1, 2011

विवादका बीच प्रधानमन्त्रीले दश मन्त्रीलाई सपथ गराए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १६ - प्रधानमन्त्री झलनाथ खनालले विवादकै बीच दश जना नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराएका छन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ । सपथ लिनेमा माओवादीबाट सिफारिस गरिएका ९ र मधेशी जनअधिकार फोरमका १ जना छन् । लामो प्रतिक्षापछि प्रस्तावित मन्त्रीहरुले सपथ ग्रहण गर्न पाएका छन् । माओवादीले आफ्ना ३ जना मन्त्रीहरुलाई यथावत तथा केही हेरफेर गर्दै १२ जना मन्त्री र १२ जना राज्यमन्त्रीको नयाँ नाम सिफारिस गरेको थियो । आफ्नो दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका बीच प्रधानमन्त्री खनालले मन्त्रीहरुलाई सपथ ग्रहण गराउने निर्णय लिएका छन् । मन्त्रीहरुको सपथ साँझ ५ बजेर ५ मिनेटमा हुने भनिएपनि प्रधानमन्त्री खनाल एमाले स्थायी समिति बैठकमा व्यस्त रहेकाले सपथमा एक घण्टा ढिलाई भएको थियो । स्थायी समितिमा सपथको विषयमा तिब्र मतभेद रहेपनि प्रधानमन्त्री खनाल 'सपथ गराउँछु' भन्दै बैठकबाट बाहिरिएर शितल निवास पुगेका थिए । प्रधानमन्त्री खनालले माओवादीका सबै मन्त्रीहरुले दिएको सामूहिक राजीनामा फिर्ता लिनुपर्ने राखेको शर्त माओवादीले स्विकार गरेपछि सपथ ग्रहणको वातावरण निर्माण भएको हो । माओवादीले सामूहिक राजीनामा फिर्ता लिएको पत्र प्रधानमन्त्रीलाई पठाएको छ । माओवादीले सिफारिस गरेको १२ मन्त्रीहरु मध्ये ३ जना अहिलेकै क्याविनेटमा छन् । ९ जना नयाँ व्यक्ति छन् । सपथ लिनेमा नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह,पोस्टबहादुर बोगटी सञ्चार,पम्फा भुसाल शान्ति,लोकेन्द्र विष्ट मगर स्वास्थ्य,हिसिला यमी भूमिसुधार,महेन्द्र पासवान उद्योग,जयपरी घर्ती महिला,बालबालिका,लेखराज भट्ट विज्ञान तथा प्रविधि र ओनसरी घर्ती खेलकुद छन् । त्यस्तै फोरमका विजय यादव वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरुको सपथको टुङ्गो लागिसकेको छैन । सपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

No comments: