लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/बुद्ध चेम्जोङ र "आठराईली"
जुलाई २४, 2011 न्यूयोर्क,न्यूयोर्क, गत आइतबार जुलाई २४ को दिन, किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्क सहरको क्विन्स ब्रिज पार्कमा संस्थाको वार्षिक ताम्भुङ्चा (बनभोज) कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ अमेरिकाले वर्षेनी साउन महिनाताका साउने संक्रान्ती (सिसेक्वा तङ्नाम) पर्वसंगै ताम्भुङ्चा र मङ्सिर महिनाताका चासोक तङ्नाम (न्वांगी पर्ब) मनाउने गरेको छ । कार्यक्रमको शुरुमा चुम्लुङ अमेरिकाका द्वित्तीय उपाध्यक्ष ईन्दिरा लिम्बू तुम्बाहाम्फेको स्वागत मन्तब्य र उपाध्यक्ष देबेन्द्र लिम्बूले ताम्भुङ्चाको बारेमा प्रकाश पारेपछि संस्थाभित्रका ब्यक्तित्व तथा अन्य संघ संस्थाका पदाधिकारी र पत्रकार लगायतलाई खादा पहिरयाएर स्वागत गरिएको थियो । यसपालिको ताम्भुङ्चा चाहिं समुदायमा बिभिन्न पक्षबाट बिशेष योगदान दिने ब्यक्तित्वहरुलाई कार्यगत सम्मान गर्ने परम्परा बसाल्दै नयाँ ढङ्गले समापन भएको छ । कार्यक्रममा सहभागिहरुलाई मनोरञ्जन दिलाउन बिभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि आयोजना गरिएको थियो । महिलाहरुकोलागि म्युजिकल चेयर र हाँडी फुटाउने खेल खेलाईेएको थियो भने पुरुषहरुकोलागि लठ्ठा तान्ने tug-of-waar खेल र छेलो (पक्लुङ) खेल खेलाईएको थियो ।
वार्षिक भेटघाट र बनभोजको रमाईलोमा रमाउनुको अलावा उक्त दिन चुम्लुङ अमेरिकाका अध्यक्ष पूर्ण लिम्बूको अध्यक्षता र फिप्नाका अध्यक्ष शिव कुमार राईको अथित्यमा एक औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । महासचिव दिपेस सुब्बा र सचिव बुद्ध चेम्जोङको संयुक्त सञ्चालनमा भएको सो कार्यक्रममा अथिति राईले चुम्लुङ अमेरिकाको ताम्भुङ्चा कार्यक्रमको सफलताको शुभकामना दिंदै नेपाल र नेपालीभित्र रहेका सबै जात जातिका संस्कार र संस्कृतिलाई जोगाउन सकेमामात्र नेपालीपनालाई जोगाएर लान सकिने कुरामा जोड दिनुभयो । वहाँले आफु लिम्बुको धान नाच र राईको चण्डि नाचमा सामेल भएर रमाए झैं गरी नै अन्य सबै नेपाली जातिहरुको सांस्कृतिमा रमाउने कुराको उदाहरणहरु दिएर यसरी नै हामीले नेपालीहरुको सद्भावलाई जोगाउनु पर्छ भन्नुभयो । आमन्त्रित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी भएको यस ताम्भुङ्चामा नेपालबाट आदिवासी महिला संघको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघमा भाग लिन आई पुग्नुभएका श्रीमती यसोकान्ति भट्टचनले आफ्नो बिचारहरु राख्दै आदिवासी जनजातिको हक हित र अधिकार प्राप्तिको लागि एक जुट हुनु पर्ने कुरामा जोड दिनु भएको थियो |
खेलाईएका मनोरञ्जनात्मक खेलहरु मध्ये युबा समुहको परम्परागत (पक्लुङ) छेलो हान्ने खेलमा कुमार लिम्बु प्रथम तथा मणि बाङङ्देल दोस्रो भएका थिए भने ५० बर्ष भन्दा माथिको उमेर समुहबाट (पक्लुङ) छेलो हान्ने खेलमा कर्ण लिम्बु योङहाङ प्रथम भएका थिए । म्युजिकल चेयर खेलमा लिना लिम्बुले प्रथम स्थान र लासू लिम्बू खवाहाङले दोस्रो स्थान प्राप्त गरेका थिए । रोचक खेल हाँडी फुटाउने खेलमाचाहिं टीना सिङ (महर्जन) प्रथम भएकी थिईन । एक्स आर्मी र नन आर्मी को आठ आठ जनाको समुह बनाएर खेलाईएको पुरुषहरुको लागि लठ्ठा तान्ने tug-of-waar खेलमा एक्स आर्मी समुहले प्रथम स्थान ल्याउन सफल भएको थियो भने नन आर्मी समुहलेचाहिं जतिसुकै जोड गरेपनि दोश्रो स्थान मै चित्त बुझाउनु पर्यो । सबै खेलहरुमा बिजयी खेलाडिहरुलाई पुरस्कार, प्रमाण-पत्र,ट्रफी र पदकहरु बितरण गरिएको थियो ।
पुरस्कार बितरण कार्यक्रमपछि चुम्लुङ अमेरिकाका अध्यक्ष पूर्ण लिम्बूले संस्थाबाट सम्मानित हुने चार ब्यक्तित्वहरुलाई प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । सम्मनित चार मध्ये अमर नेम्बाङ लिम्बुलाई साहित्य जगतमा निरन्तर लागेर डाएस्पोरा साहित्यको खोज र अनुसन्धानको कार्यबाट आर्जेको ख्यातिले समुदायलाई गौरन्वित तुल्याए वापत सम्मान गरिएका हुन । नेम्बाङ "सम्झनाका तरेलीहरु" नामक पुस्तकबाट नेपालमा पुरस्क्रित भई सकेका लेखक हुन । त्यस्तै विश्व शान्तिको आव्हान गर्दै विश्व साईकल यात्रामा रहेका फुर्तेम्बा शेर्पालाई पनि सम्मान गरिएको थियो । लिम्बू भाषा,संस्क्रिती र धार्मिक कृयाकलापहरुको संरक्षणमा पहल गरेवापत तथा न्युयोर्कमा बसेर कविता संग्रह प्रकाशित गर्न सफल कवि देबेन्द्र लिम्बू सम्बाहाम्फे सम्मनित भएका हुन भने सोही अवसरमा स्थापनाकालदेखि नै संस्थालाई दिएको योगदान, साहित्य र संस्कृतिको क्षेत्रमा दिएको योगदान तथा पत्रकारितामार्फत समुदायलाई दिई आएको निस्वार्थ योगदानको कदर गर्दै साहित्यकार तथा पत्रकार नगेन्द्र ईङ्नाम "आठराईली" लाई पनि सम्मान गरियो । ईङ्नाम यस "यूएसनेपाल अनलाईन डट कम" का साहित्य सम्पादक हुन ।
च्याब्रुङ नाचको रमाईलोसंगै मैझारो भएको कार्यक्रमका संयोजक चुम्लुङ अमेरिकाका उपाध्यक्ष देबेन्द्र लिम्बु, समितीका सदस्यहरु, चेतन सुब्बा, बिरेन्द्र लाबुंग लिम्बु, संजय लिम्बु, देश लिम्बु, योगेश लिङदेन साथै अन्य भोलिन्टियर के.बी. लिम्बू, केशर लिम्बू,राम सोदेम्बा,प्रकाश लिम्बू, गंगा लिम्बू,शान्ता लाबुङ, यूमा चेम्जोङ, लक्ष्मी आङ्बुहाङ, शुभद्रा लिम्बू,रेश्मी लिवाङ,प्रेम मेन्याङ्बो,फुपु शेर्पा,हेमा लिम्बु,सीता लिम्बु, प्रजीता लिम्बू लगायतलाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा चुम्लुङ अमेरिकाको तर्फबाट अध्यक्ष पूर्ण लिम्बूले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
No comments:
Post a Comment