News

Jan 5, 2011

भट्टराईको असहमतिकाबीच दाहालको प्रतिवेदन पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २१ - अध्यक्ष पुष्पकमल दाहालको परिमार्जित राजनीतिक प्रतिवेदन पारित गर्दै माओवादी केन्द्रीय समिति बैठक बुधबार सकिएको छ । पारित दाहालको राजनीतिक प्रतिवेदनको मूल आशयमै उपाध्यक्ष बाबुराम भट्टराईको भने असहमति छ । उपाध्यक्ष मोहन वैद्यलाई समेटेर तयार गरेको परिमार्जित राजनीतिक प्रतिवेदन आवश्यक सुझावसहित पारित भएको बैठकपछि प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । 'प्रतिवेदनप्रति उपाध्यक्ष बाबुराम भट्टराईलगायतका कमरेडहरुले मुल आशय (स्पिरिट)मै असहमति जनाउनुभयो,' बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
दाहालको प्रतिवेदनप्रति अहसमति जनाउने उपाध्यक्ष भट्टराई भने बुधबारको बैठकमा उपस्थित थिएनन् । उनी विवेकानन्द फाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा भाग लिन बुधबार नै नयाँदिल्ली गएका छन् । माओवादीले पार्टी अन्तर्संघर्षलाई तल्लो तहसम्म पुर्‍याउन पाँच बुँदे विधिबाट तल्लो तहसम्म बहस चलाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले पार्टीको कार्यविभाजन र आगामी कार्ययोजना बनाउने जिम्मा स्थायी समितिलाई दिएको छ ।
माओवादी बैठक सोमबारदेखि पार्टी कार्यालय कोटेश्वर पेसिसडाँडामा जारी थियो । दाहालले उपाध्यक्ष मोहन वैद्यलाई समेटेर तयार गरेको परिमार्जित राजनीतिक प्रस्तावप्रति असहमति जनाउँदै उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेका छन् । माओवादीले सहमतिका विषयलाई 'विचारधारा' नामक पार्टी मुखपत्रमार्फत कार्यकर्तामाझ लैजाने निर्णय गरेको । यसैगरी माओवादीले माघ महिनाभर विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उसले काठमाडौंमा माघ १३ गते, पोखरामा माघ ५ गते, दाङमा ७ गते, सुर्खेतमा ९ गते, कैलालीमा ११ गते, बुटवलमा १३ गते, जनकपुरमा १५ गते र दमकमा १७ गते प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।

No comments: