लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १७ - हङकङमा नेपाली कामदारका लागि प्रतिबन्धित रोजगारी भिसा फुकुवा गराउन दवाबमूलक अभियानै थालिएको छ । 'भिसा प्रतिबन्ध नीति विरुद्धको अभियान' भनिएको कार्यक्रमको अगुवाई नेपाली घरेलु कामदार युनियन तथा सूदुर पूर्वी प्रवासी नेपाली संघ (फियोना) ले सयुंक्त रुपमा गरेका छन् । दुबै लामो समयदेखि नेपाली घरेलु कामदारका हकहितमा कार्यरत संस्था हुन् । स्थानीय सरकारलाई भिसा प्रतिबन्धका विरुद्ध दवाब सिर्जना गर्न आयोजकले सन् २०११ अन्तसम्मका लागि आधादर्जन कार्यक्रम सार्वजनिक गरेका छन् । उक्त कार्यक्रममा यहाँस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम संगठन, स्थानीय राजनीतिक दल, तथा नेपाली संघसंस्थाहरु परिचालित गरिने पत्रकार सम्मेलनमा जनाइयो । यसैक्रममा आयोजकले नेपाल र हङकङ सरकारबीच उच्चस्तरीय वार्ताका लागि पहल गर्ने समेत बताएका छन् । नेपालीले उठाएका अभियानमा अन्तर्राष्ट्रिय प्रवासी गठबन्धन (आइएमए), एसिया प्रवासी मंच (एमएफए), एसियाली घरेलु कामदार महासंघ (एफएडिडब्लुभि) लगायतले समेत सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यि कामदारका हक अधिकारका लागि कार्यरत एसियाका प्रभावशाली संघसंगठन हुन् । 'यसैले पनि यसपटक सरकारलाई भिसा खोल्न कडा दवाब पुग्नेछ,' फियोनाका उपाध्यक्ष गंगा खतिवडाले भने, 'कार्यक्रमकै दौरान दुई सरकारबीच मन्त्रीस्तरीय वार्ता गराउने पहलमा छौं ।' अभियानको पहिलोचरणमा आयोजकले प्रतिबन्धित भिसा खुला गर्न माग राख्दै हङकङ अध्यागमनलाई ज्ञापनपत्र बुझाएका छन् । पत्रमा भिसा बन्द हुदाँको समय र अहिले देशको राजनीतिक अवस्थामा धेरै परिवर्तन आइसकेकाले नेपालीले पुर्याएका योगदानको कदर गर्दै रोजगारी भिसाबारे पुर्नविचार गर्न आग्रह गरिएको छ ।
No comments:
Post a Comment