लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २० - जिल्ला विकास समिति धनकुटा र दाङको घोराही नगरपालिका यस वर्षका उत्कृष्ट स्थानीय निकाय घोषित भएका छन् । स्थानीय निकाय वित्तीय आयोगले न्यूनतम सर्त पालना र कार्यसम्पादन मापनका आधारमा उत्कृष्ट जिविस र नगरपालिकाको घोषणा गरेको हो । जिविस, नगरपालिका तथा गाविसहरूले ऐन, नियम तथा निर्देशिका अनुसार कार्यसम्पादन गरे/नगरेका आधारमा अनुगमन र अध्ययन गरी वित्तीय आयोगले उनीहरूको वर्गीकरण गरेको हुन्छ । प्राप्तांक अनुसार नै जिविस/नगरपालिकाले थप अनुदान पाउने वा गुमाउने हुन्छ । यसका लागि तोकिएको न्यूतमत सर्त भने अनिवार्य पूरा गरेको हुनुपर्छ । प्रथम भएको धनकुटाले ८२ र दोस्रो दोलखाले ८१ अंक पाएका छन् । दुवै जिविसले कुल अनुदानको ३० प्रतिशत थप रकम पाउनेछन् । ६६ देखि ८० अंक ल्याएका मकवानपुर, हुम्ला, इलाम, पाल्पा, झापा, मोरङ, भक्तपुर, अर्घाखाँची, प्यूठान, बर्दिया, पर्वत, बागलुङ, खोटाङ र उदयपुरले थप २५ प्रतिशत अनुदान पाएका छन् । सल्यान, पाँचथर, गुल्मी, कास्की, चितवन, मुस्ताङ, म्याग्दी, तनहुँ र ओखलढुंगाले पनि २५ प्रतिशत थप अनुदान पाएका छन् ।
आयोग सदस्य सचिव केदार न्यौपानेका अनुसार जिविसका १३ वटा न्यूनतम सर्त र ५७ वटा कार्यसम्पादन सूचक थिए । योजना छनोट, बजेट, वित्तीय व्यवस्थापन लगायतका विषय न्यूनतम सर्तमा छन् । सर्त पालनाका साथै कार्यसम्पादनमा ५१ भन्दा बढी अंक ल्याएर २५ जिल्लाले प्राप्त अनुदानको थप २० प्रतिशत रकम पाएका छन् ।
No comments:
Post a Comment