News

Oct 10, 2009

नेपालमा आवश्यकता अनुसार कण्डमको पूर्ति हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २४ - नेपालमा आवश्यकता अनुसार कण्डम पूर्ति हुन नसकेको सम्बन्धित बिज्ञहरुले बताएका छन्। नेपालमा हरेक वर्ष ६ करोड ५० लाख कन्डमको माग भएकोमा ३ करोड मात्र आपूर्ति हुन सकेको छ। 'माग अनुसार कण्डम पुर्ति गर्न सकेका छैनौं,' नेपाल सरकार एचआइभी एड्स तथा यौनरोग नियन्त्रण समतिकी अधिकृत दुर्गा मिश्रले भनिन्। नेपाल एचआइभी तथा एड्स रोग नियन्त्रण केन्द्रकी प्रमुख तीर्थ राणाका अनुसार नेपालमा कण्डम प्रयोगकर्ता समूहका प्रत्यक सय जनामा २३ जनालाई कण्डम पुग्न सकेको छैन। 'कण्डमको सहज उपलब्धता अहिले पनि समस्याकै रुपमा छ' राणाले भनिन्।
२०१६ सालमा नेपाल परिवार नियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कण्डमको प्रयोगको सुरु भएको हो। सन् १९८८मा एचआइभी तथा एड्स नेपालमा पहिलो पटक भित्रिएपछि कण्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रणको लागि समेत हुन थालको हो। एचआइभी भित्रिएलगत्तै नेपालले कण्डमको प्रंचार-प्रसारमा समेत जोड दिन थालेको हो। दोहोरो भूमिकाका रुपमा प्रयोग हुने कण्डमले खास क्षेत्र तथा समुहमा सहज बन्न सकेका छैन। केन्द्रकी अधिकृत मिश्र भन्छिन्, 'पहाडका बिकट क्षेत्र र अविवाहित जोडीहरुमा कण्डम सहज रुपमा पुग्न सकेको छैन।' बिभिन्न जातिगत महिला समुहका बिचमा कण्डमको प्रयोगको स्थिति फरक देखिन्छ। मिश्रका अनुसार आर्य महिलाको तुलनामा मंगोलियन समाजका महिलाहरु यसको प्रयोग बढी गर्छन्। 'आर्यन महिलामा लज्जालुपना बढी भएकोले खुलेर माग गर्न सकेको स्थिति छैन,' मिश्रले भनिन्। प्रयोगकर्ता महिलाहरुको यकिन तथ्याङ्क नभएको मिश्र बताउँछिन्। सहरी भागको तुलनामा ग्रामिण भेगमा यसको प्रयोग सहज हुन नसकेको नेपाल परिवार नियोजन संघका डाक्टर गिरीधारी शर्मा बताउँछन्।उनी भन्छन्, 'दु्रदराजका गाउँमा अहिले पनि कण्डम लिन लाज मान्ने प्रबृत्ति यथावत छ।' नेपालमा परिवार नियोजनको रुपमा भन्दा अन्य प्रयोजनको लागि कण्डमको प्रयोग हुने गरेको देखिनछ। नेपालमा जन्मान्तरको लागि कण्डम प्रयोगकर्ताहरु ६ प्रतिशत छन् भने यसको प्रयोगमा जोड दिनेहरुमा यौनकर्मी महिलाहरु बढी देखिएका छन्। सिमित क्षेत्रहरुमा एचआइभी र यौनरोग सम्बन्धी पुरुषहरुमा ज्ञान नभएपनि महिलाको तुलनामा अधिकांश पुरुष यस बिषयमा सचेत बन्दै गएको उनको धारणा छ। अन्य देशको तुलनामा नेपालमा एचआइभी तथा एड्स रोग दिनहुँ बढ्दै गएको छ। राष्ट्रिय योजना आयोगका चेतराज कार्कीका अनुसार नेपालमा ७० हजार मानिसमा एचआइभी संक्रमित भइसकेको छन्। सर्वसाधरणको पहुँचमा कन्डम पुर्‍याउन नेपाल सरकारले आगामी दिनमा कदम चाल्ने प्रतिवद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। उनले भने, 'जोखिममा रहेकालाई आगामी बर्ष कण्डमको सहज उपलब्धता गराउन नेपाल सरकार प्रतिवद्ध छ'।

No comments: