News

Oct 10, 2009

एकीकृत माओवादी अध्यक्ष एक साता लामो चीन भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २५- नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमविरुद्ध आन्दोलनरत प्रमुख विपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार बिहान एक साता लामो चीन भ्रमणमा निस्केका छन्। दाहाल बिहान साढे नौ बजे चीनको राजधानी बेइजिङ उडेका हुन्। प्रधानमन्त्री भएका बेला चीनबाट पहिलो विदेश भ्रमण थालेका दाहालले पदबाट राजीनामा गरेपछि तेस्रो विदेश भ्रमण गर्दैछन्। यसअघि उनले युरोप र हङकङको भ्रमण गरेका थिए। उनको भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, पार्टी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र पुत्र प्रकाश सामेल हुनेछन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी त्यता जान लागेका हुन्। भारतसँग सम्बन्ध चिसिएको र नागरिक सर्वोच्चताका विषयमा आन्दोलनरत रहेको बेला माओवादी नेतृत्वले गर्न थालेको भ्रमण 'आकस्मिक' नभएको पार्टीले जनाएको छ। उपाध्यक्ष बैद्यले दुई देश र दुई पार्टीबीचका सम्बन्ध सुधार भ्रमणका मूल एजेन्डा भएको बताए। 'मुख्यतः दुई कम्युनिस्ट पार्टीको सम्बन्ध सुधार नै हो,' उनले भने, 'चीन जाँदैमा भारतसँगको सम्बन्ध बिग्रन्छ भन्ने होइन। कहिले भारत गइएला, कहिले चीन। हामी त दुवै छिमेकीलाई समदुरीमा राख्न चाहन्छौं।'विदेश विभाग प्रमुख महराले भने तत्कालीन राजनीतिक अवस्थालाई लिएर भ्रमण गर्न नलागिएको बताए। चीनमा रहँदा अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव हु जिन्ताओलगायत उच्च तहका नेतासँगको भेटघाट गर्नेछन्। बैद्यले भने भेटघाटको कार्यक्रम तय नभइसकेको बताए।गत जेठमा राष्टपति प्रकरणपछि उनले चीन भ्रमण स्थगित गरेका थिए। गत साल प्रधानमन्त्री भएलगत्तै प्रचण्ड ओलम्पिक खेलको समापनमा बेइजिङ गएका थिए। 'माओवादी कसैसित गाढा सम्बन्ध बनाउने पक्षमा छैन, सत्ताका लागि कुनै वैदेशिक शक्ति केन्द्रको पुच्छर बन्ने भ्रमबाट हामी मुक्त हुनपर्छ,' उनले भने, 'भारत र चीन दुवैसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ।' यसअघि हङकङ र युरोप यात्राबाट फर्कंदा दाहालले आफू निकै उत्सासाथ फर्केको र केही दिनमै राजनीतिक जटिलता फुक्ने दाबी गरेका थिए। तर, समस्याको गाँठो भने फुकेको छैन।

No comments: