लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ अक्टोबर, २००९, परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएको प्रति काँग्रेस नेताहरुले कडा आपत्ति जनाएका छन्। उनीहरुले यसलाई दुर्भाग्यपूर्ण भनेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको निर्णय बेगर र भावनाविरुद्ध प्रधानमन्त्रीले सुजातालाई उप्रधानमन्त्री बनाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो-यो संस्थागत पद्धतिकै विरुद्धमा छ । नेपाली कांग्रेसका प्रवक्ता एवं सहमहामन्त्री अर्जुननरसिंह केसीले सुजातालाई उपप्रधानमन्त्री बनाइएकोमा असन्तुष्टि जनाउनुभएको छ । उहाले भन्नुभयो- सुजातालाई उपप्रधानमन्त्री बनाउने नेपाली काग्रेस पार्टी संसदीय दलको संस्थागत निर्णय होइन । यसबारे पार्टीलाई जानकारी समेत छैन । नेपाली कांग्रेसका अधिकांश नेताहरुले सुजातालाई उपप्रधानमन्त्री बनाउने निर्णय रोक्न पटक पटक आग्रह गर्दागर्दै पनि प्रधानमन्त्री नेपालले सोमबार बेलुका सुटुक्क सुजातालाई उपप्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । सुजातालाई सोमबार बेलुका नै राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री नेपालले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । प्रधानमन्त्री नेपालले सत्ता जोगाउने प्रयासस्वरुप सुजातालाई उपप्रधानमन्त्री बनाएको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ । कांग्रेस सभापति कोइरालाको दबाबमा प्रधानमन्त्रीले सुजातालाई उपप्रधानमन्त्री बनाउनु भएको हो । त्यसो त सभापति कोइरालाले सुजातालाई उपप्रधानमन्त्रीमा सहमति जुटाउन सोमबार पार्टीका वरिष्ठ नेताहरुसंग छलफल गरे पनि अधिकांश नेताहरुले विरोध गरेका थिए । पार्टीका कावा सभापति सुशील कोइराला, रामचन्द्र पौडेल लगायतले सुजातालाई उपप्रधानमन्त्री नियुक्त गरेमा सरकारलाई अप्ठेरो पर्नेसम्मको चेतावनी दिएका थिए । यसैगरी नेपाली कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, जगदीश्वरनरसिंह केसी, सुरेन्द्र पाण्डे, प्रदीप पौडेल, महेन्द्र शर्मा, विश्वप्रकाश शर्मा लगायतले सोमबार राती एक संयुक्त विज्ञप्ति जारी गरि सुजातालाई उपप्रधानमन्त्री बनाइएकोमा तीब्र विरोध गरेका छन् । उनीहरुले सभापति कोइरालाले पार्टी र देशको हित नहेरी वैयक्तिक हित र स्वार्थलाई मात्र हेरेर सुजातालाई उपप्रधानमन्त्री बनाउन दबाब दिएकोमा आपत्ति जनाएका छन् ।
No comments:
Post a Comment