News

Oct 9, 2009

असहमतिका बीचमा पनि मस्यौदा र अवधारणा बुझाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९अक्टोबर,२००९,दलहरुबीच नयाँ संविाधनको नाम र नेपाल राष्ट्रको परिभाषाको विषयमा विवाद उत्पन्न भएपछि संविधानसभा संवैधानिक समितिद्वारा मस्यौदा तयार पार्न गठित उपसमितिको बिहीबार बसेको बैठकमा कुनै सहमति हुन नसके पनि आज बसेको संवैधानिक समितिको बैठकमा उपसमितिले आफ्नो अवधारणा र मस्यौदा प्रतिवेदन बुझाएको छ । समितिको सिंहदरबारस्थित कार्यालयमा आज बिहान बसेको बैठकमा देव गुरुङ संयोजक रहेको उपसमितिले आफ्नो अवधारणा र मस्यौदा बुझाएको हो । बैठक आगामी आइतबार बिहान ८ बजे बस्ने गरि आजलाई स्थगित भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समितिका सभापति नीलाम्बर आचार्यले सहमति हुन नसकेका बिषयहरु समितिको बैठकले टुङ्गो लगाउने बताउनुभयो । उपसमितिले तयार पारेको मस्यौदामा नयाँ संविधानको नाम नै सात वटा प्रस्ताव गरिएका छन् । उपसमितिमा भावी संविधानको नाम नेपालको संविधान २०६७, गणतन्त्र नेपालको संविधान २०६७, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०६७, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०६७, समाजवाद उन्मुख नेपालको संविधान २०६७, लोकतान्त्रिक गणराज्य नेपालको संविधान २०६७ राखिनुपर्ने जस्ता प्रस्तावहरु आएका छन् । उपसमितिमा फरकफरक नाम प्रस्ताव गरिएका कारण संवैधानिक समितिबाटै टुंगोमा पुग्ने निर्णय भएको छ । त्यस्तै उपसमितिमा नेपाल राष्ट्रको परिभाषाका सम्बन्धमा पनि सभासदहरुबीच विवाद देखिएको छ । एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासद्ले संविधानमा बहुराष्ट्रिय राष्ट्र लेख्नुपर्ने प्रस्ताव राखेपछि त्यसमा कांग्रेस, एमालेलगायतका दलहरुले असहमति जनाउँदै 'राष्ट्र मात्र लेख्नुपर्ने अडान राखेका छन् । नेकपा मालेले भने बहुजातीय राज्य राष्ट्र लेख्नुपर्ने प्रस्ताव गरेको छ । संविधानको प्रस्तावना र अन्य केही बिषयमा दलहरुबीच सहमति नभएपछि उपसमितिले असहमतिका बीचमा नै मस्यौदा बुझाएको हो ।

No comments: