News

Oct 10, 2009

माओवादीले सदन चल्न नदिने आफ्नो अडान कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्न नदिने आफ्नो अडान कायमै राख्ने निर्णय गरेको छ । माओवादीको संविधानसभा दल बैठकले सो निर्णय लिएको हो । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारेमा संसद्मा छलफल हुनुपर्ने माग राख्दै माओवादीले गत २२ साउनदेखि सदन अवरुद्ध पार्दै आएको छ । 'बर्खास्त गरिएका तत्कालीन प्रधानसेनापतिलाई थमौती गर्ने राष्ट्रपतिको असंवैधानिक कदम नसच्चिएसम्म सदन चल्न नदिने निर्णय भएको छ,' बैठकपछि संवाददाताहरूससँग कुरा गर्दै माओवादी संविधानसभा दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने । बैठकमा राजनीतिक गतिरोध अन्त्यका लागि दलहरूबीच भइरहेका छलफलबारेमा समेत सभासद्हरूलाई जानकारी गराइएको थियो । माओवादीले तिहारसम्म सहमति नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बैठकले निकासका लागि राजनीतिक संवादलाई जारी राख्ने निर्णय पनि लिएको छ । त्यसैबीच संविधानसभा दलको बैठकले आफूखुसी विदेश जान पार्टीका नेता तथा सभासद्माथि बन्देज लगाएको छ । बैठकले विदेश भ्रमणका लागि अवसर आए संसदीय बोर्डबाट अनिवार्य स्वीकृत गराउनुपर्ने निर्णय लिएको उपनेता प्रकाशले जानकारी दिए । विभिन्न गैरसरकारी संस्था र दूतावासको निमन्त्रणामा सभासद्हरूले विदेश भ्रमण गर्न थालेपछि माओवादी संविधानसभा दलको कार्यालयले यस्तो निर्देशन दिएको स्रोतले बतायो ।
उता आइतबार माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र प्रचण्डपुत्र प्रकाश चीन भ्रमणमा जाँदै छन् । यसैबीच मध्य तथा सुदूरपश्चिमका बाढीपीडितका लागि प्रत्येक माओवादी सभासद्ले एक/एक हजार रुपैयाँ दिने भएका छन् । बैठकले बाढीपीडितको उद्धार तथा राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा जान सम्बन्धित क्षेत्रका सभासद्हरूलाई निर्देशन दिएको बैठकपछि उपाध्यक्ष प्रकाशले जानकारी दिए ।

No comments: