लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, (शुरूमा शहरमा ल्याएर क्याम्पमा राखिने) सरकारले राष्ट्रसंघीय मिसन अन्मिनले अयोग्य र उमेर नपुगेका भनी प्रमाणित गरेका लडाकूहरूलाई पुनः स्थापनाको कार्य आज आइतबारदेखि शुरू गर्ने भएको छ। शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा यस कार्यको प्रारम्भ सिन्धुलीको दुधौलीमा रहेको शिविरबाट शुरू हुने पनि बताउनुभयो। प्रेस चौतारी नेपाल धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चेम्जोङले पुनः स्थापना कार्यको प्रारम्भिक चरणको कामका रूपमा आइतबारदेखि अन्मिनले अयोग्य प्रमाणित गरेका र शिविरमा रहेका छापामारहरूलाई जानकारी गराइने भएको बताउनुभएको हो। यस कार्यका लागि आफूसँगै अन्मिनका प्रमुख क्यारिन लेनग्रेन, यूएनडीपीका प्रतिनिधि रोबर्ट पाइपरलगायतका पदाधिकारी रहने पनि जानकारी मन्त्री चेम्जोङले दिनुभयो। यसमा एकीकृत माओवादीको सहयोग रहेको बताउँदै मन्त्री चेम्जोङले यस कार्यपछि अयोग्य र उमेर नपुगेका भनी अन्मिनले प्रमाणित गरेका ४ हजार ८ जनालाई शिविरबाट बाहिर ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। यसरी शिविरबाहिर ल्याएका अयोग्य लडाकूहरूलाई शहरी क्षेत्रमा पर्ने उचित ठाउँमा अस्थायी शिविर बनाई राखिने भएको छ। उनीहरूको भरणपोषण राज्यले नै गर्ने मन्त्री चेम्जोङले बताउनुभयो। पुनः स्थापना कार्यअन्तर्गत पहिलो चरणमा शिविरबाहिर निकाल्नका लागि सूचना दिने, दोस्रो चरणमा प्रोफाइल तयार गर्ने, तेस्रो चरणमा अस्थायी क्याम्पमा राख्ने र अन्तिममा समाजमा पुनः स्थापनाका लागि सहयोग गर्ने तयारी रहेको जानकारी दिँदै मन्त्री चेम्जोङले भन्नुभयो- ‘यसरी शिविरबाहिर ल्याइने अयोग्य माओवादी लडाकूमध्ये वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई विदेश पठाइने, अध्ययन गर्न चाहनेहरूलाई विद्यालय भर्ना गराइने र आयआर्जनका लागि सीपमूलक तालिम लिन चाहनेहरूलाई सोही प्रकारको तालिम दिइनेछ।’ उहाँले समाजमा पुनः स्थापना नभएसम्म सरकारले अयोग्य लडाकूको रेखदेख गर्ने बताउनुभयो।
No comments:
Post a Comment