News

Oct 13, 2009

अनेसासले गैरआवासीय नेपाली साहित्य-उत्सवको आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंगलबारदेखि काठमाडौंमा शुरू हुने गैरआवासीय नेपालीहरूको विश्वसम्मेलनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गैरआवासीय नेपाली साहित्य-उत्सवको आयोजना गरेको छ। हरेक दुई वर्षा आयोजना हुने उत्सवको सोमबार राजधानीमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नुभयो। उत्सवका क्रममा नेपाली साहित्यका आधा दर्जन वरिष्ठ स्रष्टा र अन्य एक दर्जनलाई सम्मान गरिएको थियो।सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार डायमनसमशेर राणा, संस्कृतिविद् सत्यमोहन जोशी, समालोचक तारानाथ शर्मा, वरिष्ठ संगीतकार अम्बर गुरुङ, कलाकार मनुजबाबु मिश्र र साहित्यकार डा. वानिरा गिरी हुनुहुन्छ। राष्ट्रकवि घिमिरेले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो। सो अवसरमा यसै वर्षप्रकाशित विभिन्न पुस्तकका १५ जना लेखकलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा राष्ट्रकवि घिमिरेले प्रवासमा रहेर पनि नेपाली साहित्यलाई गरेको योगदानको सराहना गर्दै अनेसासले आगामी दिनमा पनि नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। कला-साहित्यको भौगोलिक सीमा नहुने बताउँदै उहाँले प्रवासमा पनि नेपाली साहित्यस्रष्टाहरू रहेकोमा खुसी व्यक्त गर्नुभयो। अभिनन्दित व्यक्तित्वका तर्फबाट डा. देवीप्रसाद सुवेदीले प्रवासमा रहेका नेपाली साहित्यका माध्यमबाट संगठित भएकोमा खुसी व्यक्त गर्दै काम गर्दै जाने हो भने स्वतः सम्मान पाइने बताउनुभयो।सो अवसरमा अनेसासका अध्यक्ष डा. कुमार बस्नेत, साहित्य-उत्सवका संयोजक ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, विश्वविमोहन श्रेष्ठलगायतले आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो। सोही अवसरमा आयोजित साहित्यिक गोष्ठीमा विभिन्न साहित्यकारले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो।

No comments: