News

Oct 12, 2009

अयोग्य तथा नावालक लडाकूको बिदाइ र पुनःस्थापना प्रक्रिया शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले आइतबारदेखि माओवादी लडाकूका शिविरमा रहेका अयोग्य तथा नावालक लडाकूको बिदाइ र पुनःस्थापना प्रक्रिया शुरू गरेको छ। सिन्धुलीको दुधौलीमा रहेको माओवादी लडाकूको २ नं डिभिजन पुगी शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङ र अन्मिन प्रमुख करिन लनग्रेन, माओवादी जनमुक्ति सेनाका कमान्डरहरू सहभागी भएको एक कार्यक्रमका बीच सो प्रक्रिया शुरू भएको घोषणा गरिएको हो।त्यस क्रममा आइतबार माओवादी सेनाको २ नं डिभिजनअन्तर्गत रहेका अयोग्य लडाकूहरूको पहिलो चरणमा सूचना तथा परामर्श कार्यक्रम सम्पन्न गरियो। सरकारले विभिन्न माओवादी शिविरमा रहेका अयोग्य लडाकूहरूको प्रमाणीकरणअन्तर्गत पहिलो चरणमा उक्त कार्यक्रम भएको माओवादी २ नं डिभिजन प्रमुख शरदले उल्लेख गर्नुभयो। उक्त कार्ययोजनाअनुसार विवरण संकलन, अन्तरिम आवश्यक स्थल छनौट, अभिमुखीकरण तथा परामर्श सेवा, तालिम तथा शैक्षिक सेवा र पुनःस्थापनाको काम चरणबद्धरूपमा हुने जनाइएको छ। आइतबार यहाँ आयोजित कार्यक्रममा शान्तिमन्त्री चेम्जोङ, अन्मिन प्रमुख लनग्रेन, माओवादी डिपुटी कमान्डर चन्द्रदेव खनाल (बलदेव) तथा शान्ति मन्त्रालयमा पदाधिकारीलगायत १८ जनाको टोली सहभागी रहेको थियो। उहाँले भन्नुभयो- ‘रोजगारीसहित शैक्षिक माग पूरा भएमा सबै अयोग्य लडाकू शिविर बाहिर निकाल्न हामी तयार छौं। तर विनाविकल्पको काम हामीलाई मान्य नभएको बताउँदै शरदले भन्नुभयो- ‘नेपाली जनताका छोरा जनयुद्धबाट निस्किएका हुन्। तर राज्यले सम्मानजनक तरिकाले बहिर्गमन गर्नुपर्छ।’उहाँले भन्नुभयो- हामीलाई आज के हुन्छ भन्ने थाहा थिएन। तर अचानक मन्त्रीसहितको टोली आएर आफैले कार्यक्रम सञ्चालन गरे। हामीले सहभागिता जनायौं।’ सो अवसरमा चेम्जोङले माओवादी छापामारको माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको थियो।माओवादी २ नं डिभिजनअन्तर्गत १ हजार ९ सय ३३ माओवादी लडाकू रहेकामा तीमध्ये ३ सय ७३ जना अयोग्य रहेको डिभिजनस्रोतले जनाएको छ। उक्त डिभिजनअन्तर्गत सिन्धुलीको रानीबासस्थित सोलुसल्लेरी स्मृति बिगेड, खयरमारास्थित रामवृक्ष स्मृति ब्रिग्रेड र उदयपुरको बेलस्रोतस्थित विशालकुमार स्मृति ब्रिग्रेड रहेका छन्। सेना तथा हातहतियार व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा सन् २००६ मे २५ सम्ममा १८ वर्ष भन्दा कम उमेर भएका तथा उक्त मितिभन्दापछि माओवादी सेनामा भर्ना भएका माओवादी सेनाका सदस्यहरू स-सम्मान र स्वतः बिदाइ हुने प्रावधान छ।कार्यक्रममा सहभागी अन्मिनप्रमुख लनग्रेनले अयोग्य लडाकूको बिदाइ शुरू भएकोमा स्वागत गर्दै भन्नुभयो- ‘धेरै अगाडि भइसक्नुपर्ने माओवादी सेनाका सदस्यहरूको यो बिदाइ प्रव्रियालाई अगाडि बढाएर दुवै पक्षले सम्झौतामा आफूले व्यक्त गरेको प्रतिबद्धतालाई पूरा गरिरहेका छन्।’

No comments: