News

Oct 13, 2009

विदेशीलाई विमानस्थलमै मोबाइल सिम किन्न पाउने सुविधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २६- नेपाल टेलिकमले अन्य मुलुकमा जस्तै विदेशी नागरिकलाई अन्तर्राष्ट्रिय विमानस्थलमै प्रिपेड मोबाइल सिम किन्न पाउने सुविधा दिने भएको छ। टेलिकमले नेपाल घुम्न आउने पर्यटक र अन्य काममा आउने विदेशीलाई सुविधा दिने उद्देश्यले यो सेवा दिने भएको हो।'व्यवस्थापनले विदेशी नेपाल आउने मुख्य स्थान त्रिभुवन विमानस्थलमा काउण्टर राखेर प्रिपेड मोबाइलको सिम बिक्री गर्ने तया सुरु गरिसकेको छ,' टेलिकमका एक उच्च अधिकारीले भने। प्रिपेड मोबाइल बिक्री वितरण गर्ने काउण्टरका लागि विमानस्थल प्रशासनसँग कुराकानी भैरहेको छ, उनले भने।अरु देशमा पनि मोबाइल टेलिफोन सेवा प्रदायक कम्पनीले विमानस्थलमा काउण्टर राखेर प्रिपेड मोबाइल बिक्री गर्छन्। नेपाल आउने विदेशीहरुले होटल लगायत पिसिओबाट कल गर्दा निकै महंगो महसुल तिरिरहेका छन्।विदेशीले प्रिपेड मोबाइल लिन फर्म समेत भर्नु नपर्ने व्यवस्था गरिएको छ। विदेशीले आफ्नो राहदानीको फोटोकपीका आधारमा मोबाइल लिन सक्नेछन्।टेलिकम स्रोतका अनुसार त्रिभुवन विमानस्थलमा मात्र नभै विदेशी पर्यटक धेरै आउने स्थल नाकाहरुमा पनि काउण्टर राखेर प्रिपेड मोबाइल वितरण गर्ने तयारी भएको छ। स्थलमार्ग हुँदै आउने पर्यटक भैरहवा, बीरगन्ज, विराटनगर र रुपैडिया नाकाबाट धेरै आउँछन्।अहिले टेलिकमले विदेशीलाई राहदानीको प्रमाणित फोटोकपी लिएर मोबाइलको सिमकार्ड बिक्री गरिरहेको छ। टेलिकमले फर्म नभए पनि राहदानीको फोटोकपीमै मोबाइल नम्बर, सिमकार्डको सिरियल नम्बर भरेर विदेशीलाई दिने जनाएको छ।यो सिमकार्ड प्रयोग गरेपछि विदेशीले आफूखुशी उनीहरुको देशमा लैजान सक्छन्। तर, नेपालको सिमानाभन्दा बाहिर गएपछि यसबाट कल गर्न रिसिभ गर्न मिल्दैन।'नेपाल भ्रमणमा आएका विदेशीहरुले धेरै समस्या भोग्नुपरेकाले यस्तो व्यवस्था गर्न निर्देशन दिइसकेको छु,' टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले भने। उनले थाइल्याण्ड लगायत अधिकांश देशमा विमानस्थलमै काउण्टर राखेर सिमकार्ड बिक्री भैरहेको बताए।सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको छ। विमानस्थलबाटै प्रिपेड बिक्री गर्दा नेपाल आउने पर्यटकहरुलाई सुविधा पुग्ने अपेक्षा टेलिकमको छ।नेपाल टेलिकमले १ हजार १ सय ३५ रुपैयाँमा जिएसएम प्रिपेड मोबाइल बिक्री गरिरहेको छ। विमानस्थल र स्थलनाकाबाट मोबाइल बिक्री गर्दा पनि यही मूल्यमा दिने प्रस्ताव गरिएको छ। यो शुल्क तिरेपछि ५ सय रुपैयाँ बराबरको कल गर्न पाइन्छ।विदेशीहरु नेपालमा आउँदा उनीहरुको देशबाटै रोमिङ सुविधा लिएर आउन पनि सक्छन्। तर, रोमिङमा आएर यहाँ सिभ गर्दा महँगो महसुल तिर्नुपर्छ। 'रोमिङमा आउँदा टेलिकमलाई भन्दा पनि संबन्धित देशको कम्पनीलाई मात्र बढ्ता फाइदा पुग्छ,' टेलिकम स्रोतले भन्यो। दुई देशका टेलिफोन कम्पनीका बीचमा हिसाब मिलान हुन तीन महिना लाग्छ।
विदेशीले नेपालमा आउने बित्तिकै सिमकार्ड पाउँदा उनीहरुको देशमा फोन गर्ने अवसर पाउँछन्। यसले गर्दा तुरन्तै आम्दानी बढ्ने विश्लेषण टेलिकमको छ।

No comments: