लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गुवाहिटी, (भारत), असोज १९ भारतको उत्तर पूर्वी राज्य असममा संदिग्घ आदिवासी छापामारहरुले गोली हानी ११ सर्वसाधारणको हत्या गरेका छन्। आइतबार अबेर सोनितपुर जिल्लामा भएको आक्रमणमा मारिनेमा चार महिला र चार बालबालिका भएको प्रहरीले जनाएको छ। घटनास्थल राज्यको राजधानी गुवाहिटीबाट २ सय ४० किलोमिटर उत्तरमा पर्छ। प्रहरीले आक्रमणकारीहरु प्रतिबन्धित 'नेशनल डेमोक्र्याटिक फ्रान्ट अफ बोडोल्याण्ड(एनडिएफबी)'का छापामार भएको आरोप लगाएको छ। प्रहरीले छापामारले के कारणले सार्वसाधारणमाथि आक्रमण गरे भन्ने कुरा खुल्न नसकेको बताएको छ। असम राज्यका मत्स्यपालन मन्त्री तथा सोनितपुरका सांसद नुरजामाल सरकारले आक्रमणमा १५ जना घाइते भएको बताए। तेल र काठले धनी त्यस राज्यमा यसअघि जुनमा पनि अज्ञात बन्दुकधारीहरुले गोली प्रहार गरी १२ सर्वसाधारणको हत्या गरेका थिए। रैथाने बोडोका लागि स्वतन्त्र राष्ट्रको माग गर्दै आएको एनडिएफबीले गत वर्ष अक्टोबरमा असमका विभिन्न स्थानमा बम विष्फोट गराउदाँ करिब एक सयको ज्यान गएको थियो। असममा विद्रोह सम्बद्ध हिंसाको कारण २ दशकमा १० हजारभन्दा बढीको मृत्यु भैसकेको छ।
No comments:
Post a Comment