लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रहरी कार्यालय, अछाममा कार्यरत एक महिला प्रहरी जवानलाई प्रहरी सहायक निरीक्षक (अर्सइ) सहित सात जना प्रहरीले सामूहिक बलात्कार गरेको घटनाप्रति महिला अधिकारकर्मीहरुले आपत्ति जनाउँदै दोषीहरुमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । नेपाल एफएम नेटवर्कको आज प्रसारित कार्यक्रम समय समीक्षामा महिला अधिकारकर्मीहरुले महिला प्रहरीमाथि बलात्कारमा संलग्न प्रहरीमाथि कारवाही हुनुपर्ने बताए । बडा दशैंको नवमीको दिन चरेस मिसाइएको मासु खुवाएर बेहोस बनाई सामूहिक बलात्कार गरिएको पीडित महिला प्रहरीले खुलासा गरेकी छिन् । पीडितका आफन्तहरुका अनुसार जिल्ला प्रहरी कार्यालय, अछामले सामूहिक बलात्कार भएको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित महिला प्रहरीले सुदूरपश्चिमको जिम्मेवारी हेर्ने प्रहरी नायब महानिरीक्षक पार्वती थापालाई टेलिफोनबाट सम्पूर्ण घटना विवरण सुनाएकी थिइन् । ती महिला प्रहरीले आफूमाथि प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, हवल्दार बीरेन्द्र बम, करवीर थलाल, हिरादत्त बडु, जवान नरिभान महता, डम्बर पाल र जगदीश पाण्डेले सामूहिक बलात्कार गरेको दावी गरेकी छिन् । उक्त घटनाको छानविन गर्न सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, दीपायलका प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको छ । बलात्कारको आरोप लागेका प्रहरी सहायक निरीक्षकसहितका प्रहरीहरुले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । पीडित महिलाले आफ्नो श्रीमान भएको दावी गरेका अछामका स्थानीय बासिन्दालाई महिला प्रहरीको कोठामा राती भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।
No comments:
Post a Comment