News

Oct 7, 2009

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ५७ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ असोज मध्य असोजमा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । सुदूरपश्चिममा मात्र ५२ जनाको ज्यान गएको छ भने बुधबार पर्वतमा एकै परिवारका चारजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । डडेल्धुरामा दुई परिवारका १२ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने अछाममा २४, कैलाली पाँच, बझाङमा सात, बैतडी र डोटीमा दुई-दुईजनाले ज्यान गुमाएका छन् । नालामा आएको बाढीले बगाएर बाँकेमा एकजनाको मृत्यु भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण डडेल्धुराको मस्टमाडौं- १ गर्खागाउँमा पहिरोमा पुरिएकाको शव निकाल्न नसकिएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर सिंहले बताए । प्रहरी प्रमुख सिंहका अनुसार सो ठाउँमा अझै पहिरो गइरहेको र लगातार वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारमा कठिनाइ भएपछि डडेल्धुरा सदरमुकामबाट गएको जनपद र सशस्त्र प्रहरीको टोलीसमेत फर्किएको छ । डडेल्धुरामा पहिरोमा पुरिएका पाँचजनाको शव निकाल्न सके पनि सातजनाको स्थिति अझै अज्ञात छ । डडेल्धुरा मस्टमाडौं- १ गर्खा गाउँमा पैरो जाँदा दुई घर पुरिएको थियो । पहिरोमा परी दुवै घरका १२ जनाको मृत्यु भएको थियो । अछाम पातालकोट- ९ भासुवनमा चार घर पुरिँदा ११ जनाको ज्यान गएको छ । मृतक सबैको सनाखत भइसकेको छ । अन्य थप मृतकको नाम खुल्न नसकेको अछामका प्रमुख जिल्ला अधिकारी धुव्रकुमार वाग्लेले नयाँ पत्रिकालाई बताए । अछामकै विन्ध्यबासिनी गाविसका हिउजल सार्कीको घर पहिरोले पुरिँदा उनका चार वर्षीय छोरा मुकेश सार्कीको मृत्यु भएको छ भने दुई वर्षीय सगार सार्कीसहित दुईजना घाइते भएका छन् । अछामको सिद्धेश्वर गाविसमा पहिरोमा घर पुरिँदा खडकबहादुर बुढाका छोरा, बुहारी र नातिसहित तीनजनाको मृत्यु भएको छ भने सिद्धेश्वरकै भरत बुढाकी पत्नी रत्नाको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । त्यस्तै कैलाली बालिया- ८ लम्कीमा आठ वर्षीय डम्मर जैसीको घरनजिकैको खडलमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । कैलाली भजनी- ४ भजनीबजारका २५ वर्षीय गंगा चौधरीको घरनजिकैको खाल्डोमा डुबेर मृत्यु भएको छ । त्यस्तै चुहा- ३ सुतैहाका १३ वर्षका जितबहादुर चौधरीको बुधबार साँझ स्थानीय सुतैहा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै कैलालीको टीकापुर नगरपालिका- २ शाहीपुरका पवित्रा दमाईंको डुबेर मृत्यु भएको छ । त्यस्तै बझाङमा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माझीगाउँ- १ की जुना उपाध्याय र उनकी तीन वर्षकी छोरी पञ्चकन्या छन् । बुधबार बझाङमा छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ । बझाङ देउलेख गाविस-७ का एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय दलबहादुर धामी, उनकी श्रीमती ६० वर्षकी शर्मादेवी र चार वर्षका छोरा हीराबहादुर छन् । त्यसैगरी पाराकाट्ने- ७ धामीगाउँका १६ वर्ष मीनबहादुर धामीको पनि पहिरोमा परी मृत्यु भएको छ । पहिरोले पर्वत थापाठाना- ५ पत्यारका दुर्गाबहादुर भण्डारीको घर पुरिँदा उनको परिवारका चारजनाको मृत्यु भएको छ । पहिरोले ४६ वर्षीय दुर्गाबहादुर, उनकी ३५ वर्षीया श्रीमती बिनु, सात वर्षीया छोरी सीमा र चार वर्षीय छोरा दीपचनको मृत्यु भएको हो । दुर्गाबहादुरकी अर्की छोरी १२ वर्षीया विन्दु र १० वर्षीया रेखा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोले दुर्गाबहादुरका तीन बाख्रा र एक राँगासमेत पुरेको छ । सो स्थानका आधा दर्जन अन्य घरसमेत पहिरोको जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सो स्थानमा कार्कीनेटा प्रहरीचौकीबाट पुगेको प्रहरी टोली र स्थानीयवासीले थप उद्धार गरेका थिए ।

No comments: